• बैशाख २३ २०८१, आईतवार

मध्यपूर्वको महाशक्ति बन्ला इजरायल ?

बैशाख ३ २०८१, सोमबार

विश्व तनावविहीन छैन । बरू तनाव व्यवस्थापनमा लागिरहेको छ । विश्वका महाशक्ति राष्ट्रहरू आफ्नो स्वत्व र अस्तित्व आफ्ना ‘भाइछोरा’मा देख्न थालेका छन् । नेपालको राजनीतिजस्तै विश्व राजनीति पनि नातावाद र कृपावादको माखेसाङ्लोले जकडिएको छ ।

अहिले विश्वमा देखा परिरहेको छ, ‘तु शेर तो में सवासेर’ ! नानीको झगडा तिनका अभिभावकसम्म पुगेको छ । ‘नानीभाइ दादागिरी’ले गर्नु गरेको छ । भाइ दादागिरीग्रस्त छ विश्व ! रूसलाई युक्रेनले बसिखान दिएको छैन । अन्तिममा चड्कन दिन बाध्य छ, रूस !

यता इजरायल फेरि पनि अमेरिकी बार्दलीमा बुर्कुसी मार्दै छ । प्यालेस्टिनीसँगको अन्तरविरोध र दुस्मनी त छँदै थियो । हमास निमिट्यान्न पार्ने ‘र्‍यासियल इराडिकेशन’ उत्रियो इजरायल । यसै सिलसिलामा सिरियाको दमास्कसस्थित इरानी दूतावासमा भीषण हमला गरिदियो इजरालले !

मौकामा बदला लिन नचुकेको इरानले सिधा सिधा इजरायलमाथि ड्रोन आक्रमण गरिदियो गत शनिवारको मध्यरातमा । केही गम्भीर र संवेदनशील क्षेत्रमा आघात पुग्यो यो आक्रमणमा । इजरायलले यसको बदला लिने घोषणा गरिसकेको छ ।

यस सिलसिलामा अमेरिकासँगको कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडनले अहिले इरानमाथि हमला नगर्न सुझाब दिएका छन् । अन्यथा भएमा आफू सामेल नहुने चतावनी पनि दिएका छन् बाइडनले ।

विश्वमा ‘नानीभाइ दादागिरी’ चलिरहेको छ । संरक्षक अभिभावक दाइहरूमध्ये अमेरिकाको बूढेसकाल लागिसकेको छ । उमेर खस्किसकेको अवस्थामा आफूलाई थप कमजोर बनाउन अमेरिका अघि सर्नसक्ने अवस्था छैन । इराकका तात्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई झुण्ड्याएको युगजस्तो पनि छैन अहिले ।

चीन उदीयमान अतिमहाशक्तिका रूपमा विश्वमहाशक्तिको विकल्पमा देखा परिरहेको छ । अमेरिकाका लागि हर कदम हेक्का राख्नुपर्ने अवस्था सिर्जना भएको छ । यो बेलामा चेला चपेटा र नानी भाइहरू आआफ्ना फूर्ति देखाउन तल्लिन छन् ।

त्यसैले इजरायल–प्यालेस्टाइन, इजरायल–सिरिया, इजरायल–इरान तनाव सतहमा देखा परेको छ । रूस–युक्रेन तनावलाई समग्रमा रूसी तनावका रूपमा हेरेको देखिन्छ ।

इजरायल अहिले मध्यपूर्वमा ‘म्यान अफ द म्याच’ का रूपमा उदाउने जमर्को गरिरहेको छ । विनाप्रतिरोध प्यालेस्टिनीमाथि लगातार र निर्ममतापूर्वक हमला गर्न पाएपछि इजरायलमा एक प्रकारको अहम् चढेको देखिन्छ ।

यही मौकामा हमासको हवाला दिएर सिरियालाई पनि बेलाबेलामा आक्रमण गरेर दबाबमा राख्न पाउँदा आफू मध्यपूर्वको महाशक्ति बनिहाल्ने चाहना पलाएको देखिन्छ ।

इजरायलको यो ‘भाइ दादागिरी’ देखाउन चाहना सिरियाको दमास्कसस्थित इजरायलको दूतावासमाथि गरिएको हमलाले स्पष्ट संकेत गर्दछ । विना कारण आशंकाकै भरमा सार्वभौम राष्ट्रको दूतावासमाथिको हमला र कर्मचारीको हत्या सामान्य कुरा होइन ।

यसको जवाफ इरानले दिइसकेको छ । यसपछि इरानमाथि पनि हमला गर्ने दाउँमा रहेको इजरायलको चाहना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडनसँग गरेको टेलिफोन वार्ताले स्पष्ट पार्दछ ।

दोहोरो सम्बादमा अमेरिकी राष्ट्रपति बाइडनले अहिले चूप लाग्न र रणनीतिक कुटनीति अख्तियार गर्न सुझाब दिएका छन् । तर इजरालको यस सुझावमा चित्त बुझेको देखिदैन । इरानसँग बदला लिने मनसाय यसको देखिन्छ । तर इजरायली दादागिरीप्रति विश्व जनमत विश्वस्त रहेको देखिदैन ।

बरू यसको उल्टो सिंगो मुस्लिम समुदायलाई उत्तेजित पारेर इजरायल मध्यपूर्वमा एक्लो बन्दै गइरहेको छ । यदि इजरायलमा तामसी प्रवृत्ति देखापर्‍यो भने यसले राम्रो अवस्था निम्त्याउने देखिदैन । तत्काल र दीर्घकालका हिसाबले पनि अमेरिका अबका रणनीतिक सोचले मात्र बाँच्न र बचाउन सक्छ ।

विश्वमा अरू सम्प्रदाय र समुदाय पनि इजरायलको प्यालेस्टिनीप्रतिको व्यवहारमा सन्तुष्ट छैनन् । इरानलाई छोएर यति बेलामा इजरायलले फूर्ति देखाउन खोज्नु स्वयम् घातकसिद्ध हुनेछ ।

(एजेन्सीको सहयोगमा)