• बैशाख २३ २०८१, आईतवार

अल्ट्रा धाविक निर्मलाको सफलता

बैशाख ५ २०८१, बुधबार

अल्ट्रा धाविक निर्मला राईले १०० माइल अर्थात् १७० किमी लामो दौड जितन् । यसलाई चौथो मन्जुश्री ट्रेल रेस नाम दिइएको थियो । यो दौडमा निर्मलाले पहिलो स्थान प्राप्त गरिन् । यो दौड उनका लागि पहिलो मात्र होइन, नौलो पनि थियो ।

उनले यति लामो दौडमा कहिल्यै पनि भाग लिएकी थिइनन् । यो उनका लागि अवसर पनि पहिलो, प्रयोग र सहभागिता पनि पहिलो र स्थान पनि पहिलो थियो । त्यसैले यो उनका लागि मात्र होइन, आयोजकका लागि पनि आश्चर्य र अभूतपूर्व थियो ।

खोटाङ जिल्लाको ऐसेलुखर्ककी ३३ वर्षीया निर्मलाको साथमा अनुभव थिएन, यति लामो दौड दौडनका लागि ! उनीसँग उत्साह र अपूर्व साहस थियो । यसैको बलमा उनले अघिल्लो संस्करणकी च्याम्पियन अनिता राईलाई उछिन्न सफल भइन् ।

उनी चौथो मन्जुश्री ट्रेल रेस च्याम्पियन बन्न सकिन् । यति मात्र होइन, यस अघिकी च्याम्पियन अनिताले राखेको ‘कोर्स रेकर्ड टाइम’ को कीर्तिमान पनि तोडिन् ।

अल्टा धाविक निर्मलाले काठमाडौं उपत्यका पूरै फन्को लगाउनुपर्ने ‘मन्जुश्री ट्रेल रेस’ ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरा गरिन् । यस अघिकी च्याम्पियन अनिता यसपाला दोस्रो भइन् ।

अनिताले ३५ घण्टा ५७ मिनेट १९ सेकेण्ड उक्त रेसको दूरी पार गर्न सफल भएकी थिइन् । तेस्रो संस्करणमा पहिलो हुँदा अनिताले उक्त रेस ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पूरा गरेकी थिइन् ।

दौड जितेपछि निकै खुसी देखिएकी उनले स्वीट्जरल्याण्डमा हुने अन्तर्राष्ट्रिय १०० किलोमिटरको रेसमा सहभागी हुने अपेक्षा राखेकी छिन् । उनले ‘कुनै स्थान त आउला तर प्रथम नै हुँदिनहोला’ भनेर खेलमा उत्साहका साथ सहभागिता जनाएकी थिइन् ।

रातको समयमा पनि दौड दौड्दा सकिदैन कि के हो भनेर हार खान थालेपछि उनले पुनः साहस बटुलिन् । उनको न त प्रायोजक थिए, न त खास चिनेका साथी नै ! मन्जुश्री ट्रेल रेसमा सहभागी हुनुअघि निर्मला रामेछापको सैलुङमा भएको सुनापति सैलुङ अल्ट्रा म्याराथनमा पनि सहभागी भएकी थिइन् ।

त्यस अघि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित छैटौं राष्ट्रिय मौराखारा अल्ट्रा गुरिल्ला म्याराथनमा उनी तेस्रो भएकी थिइन् । ओखलढुंगामा भएको खिजिदेम्बा अल्ट्रा म्याराथनमा भने दोस्रो भएकी थिइन् । यिनै थिए, उनका अनुभवहरू !

दौडमा लाग्नुअघि मार्केटिङको काम गर्ने उनी ढिलो गरी रेसमा सहभागी भइन् । प्रायोजक पाए अझ राम्रो गर्न सक्ने अपेक्षा उनको छ ।