• जेष्ठ ५ २०८१, शनिबार

सोमबारदेखि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

बैशाख २२ २०८१, शनिबार

काठमाडौं । आउँदो साता देशका केही स्थानमा ‘मध्यम’ सम्म वर्षाको सम्भावना छ । आइतबार (भोलि)भन्दा सोमबार (पर्सि) वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा हुने मौसमी गतिविधि सोमबारदेखि बढ्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।

“सोमबारदेखि रेनफल (वर्षा)को गतिविधि बढ्ने देखिन्छ,” उनले   भने, “आइतबारभन्दा सोमबार वर्षाको सम्भावना बढी छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”

र शुक्रबार (हिजो र अस्ति)को तुलनामा मौसममा प्रभाव भने शनिबार नै परिसकेको उनले बताए । यस दिन बादल बढेको र तुलनात्मक रूपमा तापक्रम घटेको उनले जानकारी दिए ।
“आजै बादल लागेको छ, शीतल भएको छ,” उनले भने, “बदलीका कारण हिजोअस्तिभन्दा तापक्रम घटेको छ ।” तर, शनिबार बेलुका ७ बजेसम्म कतै वर्षा रेकर्ड नभएको उनले बताए ।

“हामीले दैनिक मोनिटरिङ गर्ने सिनोप्टिक केन्द्रमा वर्षा रेकर्ड भएको छैन । यस्तो केन्द्र २० वटा छन्,” उनले भने, “अटोमेटिक वेदर स्टेसनबाट पनि हेर्न सकिन्छ, तर त्यसमा पनि वर्षा भएको देखिएको छैन ।”