• बैशाख २३ २०८१, आईतवार

भ्रष्टाचार व्याप्त सूचीको अग्रस्थानमा नेपाल

माघ १८ २०८०, बिहीबार

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले गत मंगलबार सार्वजनिक गरेको सूचकांकले फेरी एक पटक नेपाल भ्रष्टाचार हुने मुलुकको अग्रपंक्तिमा रहेको देखाएको छ । देशका शासकीय पात्रहरुले थोरै भने पनि महसुस कहिले गर्लान् ।

सूचकांकमा नेपालले अघिल्लो वर्षभन्दा एक अंक बढी प्राप्त गरी दुई स्थान सुधार गरेको छ । तर पनि भ्रष्टाचार नियन्त्रण भने उत्तिकै छ । नेपालले एक सय पूर्णांकमा ३५ नम्बर पाएको छ । यो भनेको नेपालमा अझै व्याप्त भ्रष्टाचार छ भन्ने हो । विश्वका १८० देशमध्ये नेपाल १०८औं स्थानमा सूचीकृत छ । अघिल्लो वर्ष नेपाल ३४ अंकका साथ ११०औं स्थानमा थियो । टीआईको पछिल्लो सूचकांकमा नेपालको स्थिति थोरै सुधार भएको देखिन्छ । तर, टीआईको सूचकांकमा ५० अंकभन्दा कम प्राप्त गर्नु ‘भ्रष्टाचार व्याप्त’ मुलुकको सूचीमा दर्ज हुनु हो ।

भ्रष्टहरूकै सूचीमा दर्ज भइरहनुको कारणमा टीआईको निरन्तरको ठम्याइ छ, ‘राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनु, ठेक्कापट्टामा तजबिजी चल्नु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरूपयोग कायम रहनु ।’

पछिल्लो समय नेपालमा भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा, सुन तस्करीजस्ता प्रकरणमा संलग्न पूर्वमन्त्री र कर्मचारीहरू फन्दामा परेपछि अब केही हुन्छ कि भन्ने थोरै आशा जगाए पनि अबस्था भने अझै उस्तै छ । एकातिर नागरिकले सेवा पाउने प्रशासनिक निकायमा समयमा काम हुन सकिरहेको छैन भने सार्वजनिक लेखा परीक्षण गर्ने निकायको नियुक्ति ८ महिनादेखि हुन सकिरहेको छैन । राजनीतिक दलका ‘एस’ म्यान खोज्ने प्रवृत्ति रहिरहेसम्म नेपालको भ्रष्टाचारको ग्राफ जहिलै अग्रस्थानमा रहने निश्चित छ । भ्रष्टाचारको ‘रेड जोन’बाट नेपाल मुक्त नहुने हो भने स्वदेशी या विदेशी लगानीको वातावरण बन्न सक्दैन । त्यहीकारण समृद्धिका निम्ति सुशासन अनिवार्य सर्त मानिएको हो ।

विदेशी लगानीकर्ताले आफ्नो लगानी गर्ने भनेको शुसासन भएको मुलुकमा हो । आफ्नो लगानी सुरक्षित हुने ग्यारेण्टी नभएको ठाउँमा विदेशी मात्रै नभइ स्वदेशी लगानीकर्ताले पनि हिचकिचाइरहेका छन् । लगानीको वातावरण बनाउनका लागि पहिलो कुरा शुसासन कायम गर्न सक्नुपर्छ ।

भ्रष्ट्राचार अनुसन्धान गर्ने निकायले छानबिन गर्न ढिलाइ गर्ने र राजनीतिक दलको इसारामा चल्दा भ्रष्टाचारको नियन्त्रण गरेर शुसासन कायम हुन अझै लामो समय कुर्नु पर्ने अबस्था छ । एउटा प्रशासक योग्य र कर्तव्यनिष्ठ भए थोरै भने पनि शुसासन कायममा मद्दत पुग्ने देखिन्छ । तर, नेपालमा हुने गरेका ठेक्का पट्टा, प्रशासनिक तथा आयोगहरुमा हुने राजनीतिक हस्तक्षपले भ्रष्टाचारलाई झनै संस्थागत बनाउँदै लगिरहेको यो अबस्थालाई सुधार गर्न जरुरी छ ।