• बैशाख २३ २०८१, आईतवार

नयाँ वर्ष २०८१ उत्साहप्रद र मंगलमय बनोस्

बैशाख १ २०८१, शनिबार

विक्रम संवत् २०८० साल उत्साहप्रद रहन सकेन । राजनीतिक क्षेत्रमा अस्थिरता, महंगी, आर्थिक र सामाजिक क्षेत्रमा कुनै उपलब्धि हुन सकेन । कूटनीतिक मामिलामा समेत नेपालले आफ्नो अबब्लता प्रस्तुत गर्न सकेन । इजरायलमा हमासले गरेको आक्रमणका क्रममा १३ नेपालीको मृत्युसँगै हमासले एक नेपालीलाई बन्धक बनायो । ति युवा अझै बेपत्ता छन् तर सरकारको कुटनीतिक पहलले काम गर्न सकेन ।

त्यस्तै रुस र युक्रेनबीच दैनिक जसो हुने युद्धका क्रममा नेपालीहरुको ज्यान गइरहेको छ । अबैध रुपमा रुस पुगेका नेपालीहरु रुसी सेनामा भर्ना भएर युद्धग्रस्त क्षेत्रमा युद्ध लडिरहेका छन् । २० जना भन्दा बढी नेपालीको युद्धमा ज्यान गएको पुष्टिसमेत भइसकेका छन् धेरै नेपाली वेपत्ता छन् तर सरकारको कूटनीतिले काम गर्न सकिरहेको छैन ।

भ्रष्टाचारका केही काण्डमा ‘ ठूला माछा’ कारबाहीको फन्दामा पर्दा जनसाधारणमा केही उत्साह जस्तो देखिए पनि छुटाउने काम स्व‌यं सरकारले गरिरहेछ । जसले नागरिकले सरकारसँग गर्ने आशा गर्न छाडिसके ।

प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाएको ‘ सहकारी ठगी’ को विषयमा छानबिन समिति बनाउन सरकार तयार भएन । त्यसो त कांग्रेसले सत्तामा हुँदासम्म सहकारी ठगीको विषय खासै उठाएको देखिएन ।

सत्ता राजनीतिले एक वर्षदेखि राजनीतिक अस्थिरता रह्यो । धेरै जस्तो समय संसद् अवरुद्ध रह्यो भने प्रधानमन्त्रीलगायतका राजनीतिक नेताहरू अस्थिरतामा रमाइरहे । जसले गर्दा सत्ता कतिखेर फेरबदर हुन्छ भन्ने अन्यौलताको अबस्था अझै पनि बाँकी छ । अर्थतन्त्र ओरालो लाग्ने क्रममा छ । साथै आर्थिक मन्दीका कारण बजारमा सुनसान बनेको छ । भ्रष्टाचार र महंगीको ग्राफ उकालो लाग्ने क्रम जारी छ । महंगीले नेपालीहरुको दैनिक आवश्यकताको सामान समेत किन्न नसक्ने अबस्थामा पुगिसके ।

सत्तामा बस्नेहरुले संविधान मिच्ने प्रवृत्ति बाँकी नै छ । संविधान र कानुन मिच्ने प्रवृत्तिलाई न्यायालयले रोक्ने र नागरिकको मौलिक हक अधिकारको सुनिश्चितता होस् भन्ने कामना गर्दछौँ । यसैले आउने वर्ष २०८१ साल प्रगति र समृद्धिको वर्ष हुने अपेक्षा गर्न सकिन्छ ।

नयाँ वर्ष २०८१ गोलखबरका पाठक, शुभेच्छुक लगायत सम्पूर्ण नेपालीका लागि सुख, समृद्धि र सुस्वास्थ्यको वर्ष बनोस् यही शुभकामना !