• जेष्ठ ५ २०८१, शनिबार

क्रान्तिकारी नेकपा र नेकपा (मशाल)बीच पार्टी एकता, संयोजक तोकिए मोहन वैद्य

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र सन्तबहादुर नेपाली नेतत्वको नेकपा (मशाल)बिच पार्टी एकता भएको छ ।

एक हप्तासम्म चलेको एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । केही वर्ष अगाडी मोहनविक्रम सिंहको नेकपा मसालबाट विद्रोह गरी नेकपा मशाल गठन भएकाे हाे । यसअघि नेता सन्तबहादुर नेपालीले मोहनविक्रम र चित्रबहादुर केसीले क्रान्ति गर्ने भन्दै गुमराहमा पारेको भन्दै विद्रोह गरेको बताएका थिए ।

यता केही समयअघि विप्लव नेतृत्वका नेकपा संसदीय व्यवस्थामा गएपछि सो पार्टीबाट विद्रोह गरी नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला पनि वैद्य नेकपासँग एकतामा गएपछि सडक संघर्षमा रहेका संसदीय व्यवस्थाविरुद्ध लडिरहेका दलहरुको आयातन बढ्दै गएको छ ।

आज बानेश्वरको ओमसाई पार्टी प्यालेसमा भएको सभामा दुई पार्टीबिच एकता घोषणा गरियो । पार्टी एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शिर्ष नेतादेखि कार्यकर्ता सहभागी थिए ।

एकता अधिवेशनले पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै राखेको एक नेताले बताए । नवगठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, वरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहेका छन् ।

एकता अधिवेशनले २५ जनाको कार्यालय, १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ । कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ।

आजको एकता घोषणा कार्यक्रममा बोल्ने नेताहरुले संसद बाहीर रहेका क्रान्तिकारीहरुलाई एकतावद्ध गरी समाजवादी व्यवस्थाको लागि आन्दोलनमा गोलबन्द गरिने बताए । आज अन्तराष्ट्रिय श्रमिक दिवस पनि परेकोले सिंगो मजदूर वर्गको मुक्तिको लागि पनि आफ्नो पार्टी लड्नेमा नेताहरुको जोड थियो ।

०६८ सालमा प्रचण्ड र बाबुरामहरू संसदीय व्यवस्थामा बिलय भएकाे निष्कर्ष निकाल्दै माेहन बैद्यकाे नेतृत्वमा नेकपा- माओवादी गठन भएकाे थियाे ।