• बैशाख २३ २०८१, आईतवार

अस्थिर राजनीतिमा प्रचण्डको क्रमभङ्गता

फाल्गुन २१ २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण गरेर बाँगटे हानेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसँग गठबन्धन गरेसँगै राजनीतिमा नयाँ तरंग देखिएको छ । प्राय सधै बाँगटे हान्न सिपालु प्रचण्डले यो पटक पुन नयाँ गठबन्धन बनाएसँगै उनी सधै क्रमभंग मात्रै चाहने व्यक्ति हुन् भन्ने चरितार्थ भएको छ ।

राजनीतिमा उनले विचार मिल्नेसँग होस् या विचार नमिल्नेसँग जुनसुकै बेला पनि गठबन्धन गर्न र लचक हुन सक्छन् भन्ने उदाहरण हालको नयाँ सत्ता गठबन्धन हो । कांग्रेससँग चुनावमा गठबन्धन गरेर सरकारका आए लगतै शुरुमा प्रचण्डले एमालेसहितका दलसँग गठबन्धन गरेर सरकार बनाए । जसरी पनि प्रधानमन्त्री हुने दाबी गरिरहेका प्रचण्डका लागि कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व आफूले गर्ने भन्नु स्वभाविक पनि थियो । किन कि संसदीय अभ्यासमा सबैभन्दा ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो हुने प्रमुख प्रतिपक्ष दलमा रहने मान्यता छ । तर, दाहालले प्रधानमन्त्रीकै कुर्सीमा कुरा नमिलेको कारण देखाएर एमालेसँग हात मिलाए । केही समयपछि कांग्रेस दाहाललाई प्रधानमन्त्री बनाउन तयार भएपछि दुई महिनाको बीचमा पुन पुरानै गठबन्धन ब्युतिएको घोषणा भयो । एक वर्षसम्म टिकेको सो गठबन्धन फागुन २१ गतेबाट पुन नयाँ समिकरणका साथ अघि बढेको छ । दाहालका लागि राजनीतिक क्रमभङ्गता भएपनि नेपाली राजनीतिमा यो अबस्था अस्थीर राजनीतिको परिणाम हो ।

राजनीतिमा सिद्धान्त, कार्यनीति र केही उद्देश्य प्राप्तिका लागि निश्चित नीतिमा अडिएर गठबन्धन हुनु नराम्रो होइन । दलहरु सत्ताको दर्बिलो भाग लिन गठबन्धनमा सामेल हुने, थोरै तलमाथि हुँदा गर्जने, सत्तामा छँदा सस्तो लोकप्रियताका लागि केही काम गर्ने तर जिम्मेवार नबन्ने, कुनै पनि कार्यप्रक्रिया (सिस्टम) तयार गर्न कुनै महत्व नदिने प्रवृत्ति स्थिर राजनीतिका विरोधी हुन् ।

एक वर्षअघि एमालेसँग छुटेर पुरानै गठबन्धनलाई निरन्तरता दिएका प्रचण्ड पुनः एक पटक एमालेसँग हात मिलाउन पुगेका छन् । एमालेको चाहना पनि यतिखेर प्रचण्डको सोच अनुकुल भएको छ । त्यसो त प्रचण्डले अहिले जसरी गठबन्धन टुटाएका छन् त्यसमा धेरै कारण देखाए पनि खासमा संक्रमणकालीन न्याय सम्बन्धी विद्येयक पनि प्रमुख कारण हुन् । एमालेसँग मिलेर शान्ति प्रक्रियाका बाँकी काम पूरा भए एउटा राम्रो सन्देश जान सक्छ भन्ने प्रचण्डलाई लागेको छ। शान्तिप्रक्रिया आफ्नै नेतृत्वमा टुग्याउँदा त्यसको जस लिने होडमा प्रचण्ड छन् । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको १२ बुँदे सम्झौता हस्ताक्षर गरेको नाताले पनि यो प्रक्रियाको जस पनि प्रचण्ड आफै लिन तल्लीन छन् । अहिलेको यो अबस्थामा संक्रमणकालीन न्याय नटुंगिए भोली सोही तरबार टाउको माथि बज्रन सक्ने डर पनि उत्तिकै छ । त्यसैले खासमा अहिले सत्ता गठबन्धनमा क्रमभंगताको मुख्य विषय संक्रमणकालीन न्याय पनि हो । अरु तपसिलका कुरा हुन् । तर अहिलेकै अबस्थामा अझै सहज रुपमा सो विद्येयक पास हुन्छ भन्नेमा शंका नै छ ।

त्यस्तै अर्को विषय राष्ट्रिय सभा अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री ग्यारेण्टी सुनिश्चितता पनि प्रचण्डले खोजेको देखिन्छ तर गठबन्धन सरकारमा काम गर्न भोलिका दिनमा भने प्रचण्डलाई त्यति अबस्था अझै नरहला । जे भए पनि एक पटक प्रचण्डले फेरी गठबन्धनको नयाँ काँध फेरेर क्रमभंगता गरेका छन् ।