• बैशाख २३ २०८१, आईतवार

सबैभन्दा होचो डाक्टरको सफलता

बैशाख २ २०८१, आईतवार

२३ वर्षीय गणेश वरैया संसारका सबैभन्दा होचा डाक्टर हुन् । उनभित्र रहेको इच्छाशक्तिले उनलाई डाक्टर बनायो । त्यो पनि कैयौं बाधा र व्यवधानलाई चिरेर मात्र । उनले संसारमा केही पनि कुरा असम्भव छैन भन्ने उदाहरण देखाएका छन् ।

उनी भित्र इच्छाशक्ति र क्षमता हुँदा हुँदै पनि कद होचो हुनुका कारण विभेदको सिकार हुनुपर्यो । अहिलेको सफलता हासिल गर्न उनलाई अजङ्गका कठिनाइहरूको सामना गर्नुपरेको थियो ।

भारतको गुजरातस्थित तलाजा ठालुकामा उनको जन्म भएको थियो । सानो कद हुनुका कारण बाल्यकालदेखि उनलाई समाजले हेप्न र विभेद गर्न थालिहाल्यो । सानै उमेरमा उनले प्रतिकूलताको सामना गर्दै अघि बढे ।

जन्मदा सामान्य अवस्थामा रहेका उनको करिब ४ वर्षको उमेरपछि शारीरिक बृद्धिमा समस्या देखा परेको थियो । शरीरको तुलनामा टाउकोको आकार धेरै बढ्न थालेपछि यो उनी वयम् र परिवारका लागि समस्याको विषय बन्न गयो । उनका बुवाआमालाई यसले सबैभन्दा बढी चिन्तित तुल्यायो ।

१८ केजी वजन भएका ३ फिट अग्ला गणेशले हालै आफ्नो एमबीबीएस्को अध्ययन सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको रुपमा कार्यरत गणेश आफ्नो क्षेत्रमा सफल हुनेमा निकै आशावादी छन् । साथै, ढुक्क र प्रफुल्ल पनि !

शारीरिक बृद्धिमा समस्या :

गणेशको शारीरिक बृद्धिमा समस्या देखा परेपछि उनका बाबुआमाले अस्पतालमा चेकजाँच गराए । अनेकौ प्रयत्नपछि पनि डाक्टरले गणेशको शारीरिक उपचार नहुने विश्वास दिलाए ।

यसले उनको परिवारमा नैराश्यता ल्याइदियो । तथापि विकल्प केही थिएन । आमाबाबुले उनको निरन्तर हेरचाह गरे, भगवानसँग उनको शरीरिक बृद्धिका लागि कामना गर्दै र आशीवाद माग्दै गरेर ।

टाउको बढ्न नदिन कसिलो हेल्मेट :

अस्पतामा डाक्टरले कसैले पनि केही गर्न नसक्ने बताएपछि उनकी आमाले एक कसिलो हेल्मेट बाँधिदिइन् उनको टाउकेमाथि । उनको आशय थियो, गणेशको टाउको धेरै नबढोस् । छोटो कद र ठूलो टाउको देखेर उनका साथीहरू हाँस्ने गर्दथे ।

उनलाई आफू अरूको हाँसोको पात्र बनेकोमा खिन्नता पनि महसुस हुने गर्दथ्यो । तर उनका केही असल साथीका काण उनले हालको प्रगति गर्न सके । पढाइमा ध्यान दिएर जीवन सफल बनाउन सके ।

सर्कसको अफर :

गणेशका बुवा कृषक थिए । त्यो पनि कृषि मजदुर ! कृषि मजदूरी गरेर उनले दिनमा २ सय जति भारतीय रूपैयाँ कमाउँथे । जीवन धान्न मुस्किल थियो ।

एक दिन गणेशका बुवालाई आकाश खसे झैं अफर आयो । कसैले भन्यो, गणेशलाई सर्कसमा काम गर्न जान दिनु पर्छ । यस वापत पैसा पाइन्छ । उनको घरको गर्जो पनि टर्छ । उनलाई सर्कसमा लैजानका लागि १ लाख भारतीय रूपैया दिने भनियो । गणेशका बुवाले यस अफरलाई ठाडै अस्वीकार गरिदिए ।

तर पनि उनमा डर भने गएन । कतै कुनै बेला छोरालाई अपहरण गरेर सर्कस लगिदिने पो हुन् कि भनी उनी चिन्तित रिहरहे । छोरालाई देखिसकेपछि दलाल पछिलाग्ने हुन् कि भन्ने चिन्ता थियो । उनले छोरा गणेशलाई आफैले स्कुल पुर्याउने र ल्याउने गर्न थाले ।

दृढ इच्छाशक्ति :

शारीरिक रूपमा साना देखिए पनि गणेश निकै मेहनती र महत्वाकाङ्क्षी थिए । डाक्टर बन्ने उनको सपना पूरा गरेरै छाडे । उनलाई डाक्टर हुने छन् भनेर कसैले पनि विश्वास गरेका थिएनन् । तर आमा बाबुले भने सधैं साथ दिइराखे ।

उनलाई सुरूमा पुड्को देखेकै कारण एमबीबीएस पढ्न दिन अस्वीकार गरियो । तर आवेदन पछि प्रवेश परीक्षामा राम्रो अंक ल्याए । तर परिणामपछि भारतको मेडिकल काउन्सिलले उनको आवेदन अस्वीकृत गरेर बाटो बन्द गरिदियो ।

उनीे विद्यालयका प्रधानाध्यापकको सहयोगमा जिल्ला अधिकारी समक्ष पगेर निवेदन गरे । लगत्तै उनी शिक्षामन्त्री समक्ष पुगेर सबै कुरा बताए । यति मात्रले नपुगेपछि उनले गुजरात उच्च अदालत पनि पुगे ।

उनको मुद्दा भारतको सुप्रिम कोर्टमा पुग्यो । कोर्टले गणेशलाई न्याय दिलाएरै छाड्यो । उनले अध्ययन गर्न पाए । त्यसपछि उनी भर्ना भएर एमबीबीएस् पूरा गरे ।