• बैशाख २३ २०८१, आईतवार

नेपालबाट अर्बौंको आईटी सेवा निर्यात

चैत्र २४ २०८०, शनिबार

नेपालमा सूचना प्रविधि निकै नौलो आयाम हो । आगमनको छोटो समयमै यसको द्रुत विकास आफैमा नेपाली विशिष्टता हो । अहिले त नेपालले सूचना प्रविधिका सेवा विश्व बजारमा बेच्ने गरिरहेको छ । यो सेवाको मात्रा विश्व बजारमा नगन्य रहे पनि नेपालका लागि भने यो एक नौलो सफलताको सिँढि नै हो ।

हाल विश्वमा सबैभन्दा बढी माग भइआएको क्षेत्र सूचना प्रविधिकै हो । सबै क्षेत्रमा प्राविधीकरणसँगै प्राविधिक सेवाको माग विश्व बजारमा निकै उच्च छ । भीमकाय दुई छिमेकी देश भारत र चीनले सूचना प्रविधिको क्षेत्रमा द्रूत गतिमा उन्नति गरिरहँदा यसको सकारात्मक प्रभाव नेपालमा पनि परिरहेको छ । नेपाल पनि सूचना प्रविधि (आईटी) क्षेत्रको गतिलाई पछ्याउने क्रमा छ ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको पछिल्ला अध्ययनले नेपालबाट बर्सेनी अर्वौ रकमको आइटी सेवा निर्यात हुन थालेको देखाएको छ । सन् २०२२ देखि आईटी सेवाको उल्लेखनीय निर्यात हुन थालेको हो । सन् २०२२ मा करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा नेपालबाट निर्यात भएको छ । सूचना प्रविधि कम्पनी तथा १४ हजार ७२८ स्वतन्त्र (फ्रिल्यान्सर) निर्यातकर्ताले यो सेवा निर्यात गरिरहेका छन् ।

आईटी सेवामा इन्टरनेट प्रयोग गरेर गरिने सबै काम पर्छन् । त्यसैले आईटी सेवालाई ‘इन्फर्मेसन टेक्नोलोजी इनेबल्ड सर्भिसेस’ पनि भनिन्छ । आईटी सेवा भनेको सफ्टवेयर मात्रै होइन । यसको क्षेत्र व्यापक छ, जो नेपालमा प्रयोग भइरहेको छ ।

हाल नेपालबाट विदेश निर्यात भइरहेका आईटी सेवामा अनलाइन कक्षा, अटो क्याड, सफ्टवेयर निर्माण, क्रियटिभ राइटिङ, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन, मार्केटिङलगायत पर्दछन् ।

नेपालमा सूचना प्रविधिलाई आधार बनाएर काम गरिरहेका कम्पनीको सङ्ख्या ५ सय नाघिसकेको छ । आईटी र आईटीईएस क्षेत्रमा काम गर्ने जनशक्ति अहिले नै एक लाखको हाराहारीमा छ । हेल्थ इन्स्योरेन्स, रिटेलर, बैंकको मोर्टगेजको काम पनि आईटी सेवामार्फत् भइरहेको छ ।

विदेशमा रजिस्ट्रेसन गरिएका वेवसाइटका काम नेपालबाटै भइरहेका छन् ।