• बैशाख २३ २०८१, आईतवार

साँचै बन्दैछ अन्तरग्रह बुलेट रेल !

चैत्र १७ २०८०, शनिबार

आखिर विज्ञान र प्रविधि हो । यसले संसारमा धेरै कुरालाई संभव बनाएको छ । अन्तरीक्ष अहिले यस धरतीका खोजकर्ताका लागि पानी पधेरो बनेको छ । अध्ययन अनुसन्धानका लागि पृथ्वीमा विभिन्न प्रयोगशाला खुलिरहेका छन् ।

कुन ग्रह र कुन उपग्रहमा के गर्ने भन्ने कुराको निर्धारण धरतीबाटै हुने गरेको छ । पृथ्वीको उपग्रह चन्द्रमालाई अन्तरिक्ष गतिविधिका लागि सुरक्षित र भरपर्दो मानिदै आएको छ । यसैबीचमा जापानी वैज्ञानिकहरूले चन्द्रमामा बुलेट रेल चलाउने तयारी गरिरहेका छन् ।

जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमामा बुलेट रेल चलाउने भएका छन् । यसले मंगल ग्रहसम्म जोड्ने रेलको काम गर्ने छ ।

यसको अर्थ यो पनि हो कि चन्द्रमामा रेल निर्माण गरिने कुरा गरेर त्यहाँ अन्तरीक्ष स्टेशन निर्माण हुँदैछ । यसले मंगल ग्रहलगायतको खोजीमा रणनीतिक काम गर्नेछ ।

वैज्ञानिकले अहिले पृथ्वीभन्दा बाहिर मानिसको बस्ती बसाउने परिकल्पनालाई साकार पार्न आआफ्ना रणनीतिक सोच र योजना अघि सारिरहेका छन् । यसका लागि चन्द्रमामा गरिने निर्माण कार्य सहायक सिद्ध हुने छन् । हावा र पानी नभएको स्थानमा गरिने खोज र निर्माण कार्यले मानिसको पहुँच हुने जुनसुकै ंग्रहमा पनि कृत्रिम आवास निर्माण गरेर बस्नयोग्य हुने वा नहुने भन्ने यथार्थ छनक दिनेछ ।

अन्तरीक्षमा खोज गरिएका र संभव भएका सबै ग्रह, उपग्रह आदिमा बुलेट रेलको गतिमा आवत जावत गर्न अहिले अन्तरग्रह रेलसेवाको प्रोटोटाइपमा काम हुँदै आएको छ । यो कुरा अहिले परिकल्पनामा आधारित देखिए पनि यसलाई यथार्थमा उतार्न जापानी शोधकर्ताहरू रातदिन लागिपरिरहेका छन् । यसका लागि एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् ।

यो आवास पानी, हावा र पृथ्वीकै जस्तो प्राकृतिक वातावरण रहेको आवास हुनेमा जापानी खोजकर्ता ढुक्क देखिन्छन् । आवास एक प्रकारको सानो सोली आकारको भवन हुनेछ । त्यसमा पृथ्वीमै रहेकोजस्तो गुरूत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनलाई ‘शिशा’ अर्थात् ‘ग्लास’ नामाकरण गरिएको छ । त्यसभित्र बसेर काम गर्ने मानिसको शारीरिक रचनालाई चन्द्रमाजस्तो सानो पिण्डमा स्वाभाविक रूपमा हुनेसक्ने कम गुरूत्वाकर्षण वा शून्य गुरूत्वाकर्षणको स्थितिबाट हानी नपुगोस् भनी यो भवनको बनावट कायम गरिएको छ ।

जापानी सोधकर्ता ढुक्क देखिन्छन् कि यो संरचनाले मानिसको शारीरिक कमजोरी हुनबाट बचाउनेछ । तर यिनमा प्रयोग गरिने गुरूत्वाकर्षण कृत्रिम हुने छ । तर यहाँ उपलब्ध साधनस्रोत र वातावरण भने पृथ्वीकैजस्ता हुनेछन् ।

यो घर एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिट बन्नेछ । साथै, हरियाली तथा पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले पेस गरेको भवनको काल्पनिक नमूना अहिले चर्चामा छ पनि । यो हेर्दा उल्टो सोलीजस्तै देखिन्छ ।

साथै, यो पृथ्वीजस्तै लगातार परिक्रमा गरिरहनेछ । निरन्तर परिक्रमणका कारण यसको केन्द्रमा एउटा दबाब सिर्जना हुनेछ । यसले यो आवासभित्र पृथ्वीमा झैं गुरूत्वाकर्षणको आभाष दिइरहने छ ।

वैज्ञानिकको दाबी अनुसार अबको २६ वर्षपछि अर्थात् सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यास भएको एक प्रोटोटाइप तयार हुनेछ । यसपछिका निरन्तर प्रयासले यसमा समयसापेक्ष सुधार ल्याउँदै यथार्थमा परिणत गर्दै जाने वातावरण र अनुभव प्रदान गर्ने छन् ।