• जेष्ठ ५ २०८१, शनिबार

चन्द्र सतहको विस्तृत अध्ययनमा चीनको सफलता

बैशाख २३ २०८१, आईतवार

चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक भूउपग्रह हो । तर यसका सबैपक्षका बारेमा खोजी पूर्णरूपमा हुन सकिरहेको छैन । नजिकको पिण्ड भएर पनि पृथ्वीबासीका लागि चन्द्रमा अझैं रहस्यको विषय बनिरहेको छ । मानिसले मंगलग्रहमा अन्तरीक्ष यान पठाएर त्यसको सतहमा रोभरद्वारा खोजी कार्य जारी राखे पनि चन्द्रमा भने उपेक्षामा परिरहेको छ ।

यस्तो अवस्थामा पछिल्लो समयमा चीनले चन्द्रसतहमा गरिएको खोजीको परिणामस्वरूप एक विस्तृत नक्सा तयार पारेर सार्वजनिक गरिसकेको छ । यो चन्द्र सतहको नक्सा हो, जसमा चन्द्रमाको सतहमा रहेका सबै पक्षलाई निकै सूक्ष्म तरिकाले नियालेर लगभग सापेक्ष पूर्णतामा तयार पारेर राखिएको छ ।

चन्द्र सतहमा उल्कापिण्ड ठोक्किएर बनेका ठूला खाडल यो नक्सामा पनि देख्न सकिन्छ । अङ्ग्रेजीमा ‘क्रेटर’ भनिने यी खाडलको सङ्ख्या भने ठूला साना गरी धेरै रहेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्यूट अफ जियोकेमिस्ट्रीका वरिष्ठ शोधकर्ता लियु जियानझाङले यसको रोचकताबारे तथ्यहरू बाहिर आएको बताएका छन् ।

नक्सामा चन्द्रसतहको विस्तृत चित्र छ, जसमा क्रेटरमा सबैभन्दा पहिले जोकसैको पनि आँखा लागिहाल्छ । इम्प्याक्ट क्रेटरजस्ता स–साना खाडलहरु उल्कापिण्डसँग ठोक्किएका कारण चन्द्रसतहमा बन्न पुगेका उल्लेख गरिएको छ । पहिलेका अनुसन्धानमा नयाँ त्यस्तो केही नलागे पनि चन्द्रसतहको विस्तृत नक्सा भने यो नै पहिलो हो । यो चन्द्रमाबारे हालसम्म गरिएका अध्ययन र खोजको सबैभन्दा पछिल्लो उदाहरण भने पक्कै हो ।

जियानझाङका अनुसार उक्त नक्सामा चन्द्रमाका सबै क्रेटरहरु समावेश छन् । सबैभन्दा ठूलो ‘इम्प्याक्ट क्रेटर’ पूरा बेसिनसहित छ । यसलाई ‘इम्प्याक्ट बेसिन’ नाम दिइएको छ । इम्प्याक्ट बेसिनको व्यास २ सय किलोमिटर छ ।

चन्द्रमामा देखिएका सबै क्रेटर एकै समयमा भएका होइनन् । ती खाडल बनेका समय अनुसार तिनको रङ भरिएको छ, चन्द्र सतहको नक्सामा । ती रङमध्ये बैजनी रङले भरिएको क्रेटर सबैभन्दा पुरानो क्रेटर मानिन्छन् । यो काम आजभन्दा १२ वर्षअघि नै सुरू गरिएको थियो । चीनका वैज्ञानिक तथा स्याटेलाइट तस्वीर बनाउने नक्साविदहरु सन् २०१२ देखि नै चन्द्रसतहको विस्तृत नक्सा तयार पार्ने काममा लागिसकेका थिए ।

अमेरिका लगायत पश्चिमा विकसित देश र तिनको शोधशालाले काम सुरू हुँदा नै हल्लाखल्ला गर्ने गर्दछन् । तर चिनियाँ भने काम भइसकेपछि त्यसलाई सार्वजनिक गरेर शान्तपूर्वका त्यसको प्रतिक्रिया हेरेर मात्र बोल्छन् । आजको यो चन्द्रसतहको विस्तृत नक्सा तयार पार्न चिनियाँ अन्वेशन यान चाङ्गी–१ र चाङ्गी–२ ले ठूलो सहयोग गरेका छन् ।

यस्ता तस्वीरलाई अर्बिटरले थप पुष्टि गर्न मद्दत गरिरहेको हुन्छ । सन् २०१३ तथा २०१९ मा चाङ्गी–३ र चाङ्गी–४ प्रक्षेपण गरिएपछि त चीन चन्द्रसतहको विस्तृत अध्ययन पूरा गरिसक्ने अवस्थामा पुगिसकेको थियो ।

पछि चाङ्गी–५ ले चन्द्रसतहको ‘नियर साइड’ को क्लियर नमूना लिन सकेको थियो । नियस साइड भनेको पृथ्वीबाट देखिने चन्द्र सतहको हिस्सा हो । यो नमुना सन् २०२० मा चीनले पाइसकेको थियो । अबका दिनमा अत्याधुनिक चाङ्गी–६ नामक मिसन चन्द्रमामा पठाउने तयारी चिनियाँ अन्तरीक्षशालाले गरिरहेको छ ।

सन् २०३० सम्म चन्द्रमामा अन्तर्राष्ट्रिय अनुसन्धान स्टेशन बनाउने चीनको लक्ष्य रहेको छ । चन्द्रमा अध्ययनमा अमेरिकाभन्दा चीन अघि सरिसकेको अनुमान वैज्ञानिकहरूको बीचमा चलिरहेको छ ।