• बैशाख २३ २०८१, आईतवार

हाम्रो कृषि कर्म हेर्न र पीडा सुन्न हाम्रो आगनमा सरकार कहिल्यै आएन !

बैशाख ६ २०८०, बुधबार

मेरो जन्म २०५२ साल भदौ ३ गते भएको हो । घरमा हामी ५ दाजुभाई छौं । दिदीबहिनी कोही हुनुहुन्न । म घरको जेठो सन्तान हो । म कृषि कर्ममा सानैदेखि जोडिएको हुँ । सुरुवातदेखि नै कृषि कर्म गर्दै आएको मानव जाति झैं मेरो बाबुआमा पनि कृषि कर्ममा आबद्ध हुनुहुन्छ । २०५८ देखि मेरो बाबुआमाले व्यावसायिक रुपले कृषि कर्म गर्नका लागि निजी फलफूल नर्सरी दर्ता गरि कामको सुरु गर्नुभयो ।

सुरुवातीको चरणमा त्यहाँ पाइने स्थानीय फलफूलका बोटबिरुवा आफूले लगाउने र अरुलाई बेच्ने पनि गर्दै आउनु भयो । जब हामी विस्तारै हुर्किंदै थियौं । पहिला लगाएका फलफूलहरु फल्न थाले । तब कहिले आमासँग त कहिले आफू एक्लै त कहिले मेरा भाई त कहिले हाम्रै गाउँका आफन्तसँग सदरमुकाम मान्म बजार बुबाले बनाउनु भएको सानो डोकोमा आफूले बोक्न सकेजति फलफूल टिपेर बेच्न जान्थें । जब कि म त्यो समयमा ३ कक्षा पढ्थें ।

त्यतिबेलैदेखि मैले फलफूल बेच्न सुरु गरेको थिएँ । फलफूलका बोटहरुमा पानी चाहार्ने र गाउँमा आफूले सकेको जति आमाबालाई सघाउने गर्दथें । २०७० मा एसएलसी पास गरेपछि के विषय पढ्ने भनेर धेरै सोचें । कोही मलाई कतै बाटो देखाउने मान्छे पनि थिएन । कृषि विषय पढ्नु पर्छ भन्ने घरका सदस्यहरुको जोड थियो । तर आफूलाई कृषि विषय कता पढाई हुन्छ भन्ने थाहा थिएन । खोज्दा खोज्दै र पछि बुझ्दै जाँदा दाङको राप्ती प्राविधिक शिक्षालय लालमटियामा सो विषय पढाई हुने गरेको थाहा पाइयो ।

तयारी गरेर प्रवेश परिक्षा दिएँ तर वैकल्पिकमा नाम निस्कियो । तर मैले काठमाडौं गएर होटेल म्यानेजमेन्ट विषयमा पढ्न सुरु गरें । काम गर्दै गर्दा काठमाडौंका विभिन्न स्टार होटेल तथा पाटी प्यालेसहरुमा काम गर्दै पढें । पढाई सकें तर अझै पनि घर बाआमाको जोड भने कृषि पढ्नु पर्छ भन्ने थियो । दुई वर्षपछि सिटीइभिटीले कृषि विषयको पढाईमा छात्रवृत्ति खोल्यो । प्रवेश परिक्षा दिएँ र नाम निस्कियो । अनि रोल्पाको नेपाल राष्ट्रिय नमूना माविमा पढ्न गएँ । त्यो पढाई पनि सकें ।

पढ्ने क्रममा संगै पढ्ने साथीहरु मिलेर विद्यालयमा खेती सुरु गरेका थियौं । नेपालमा निर्वाहमुखी खेती गर्दै आइएको भएपनि हामी भने पढाई सकेपछि साथीहरु मिलेर दाङमा व्यावसायिक हिसाबले खेती गर्ने भन्ने सल्लाह गरेका थियौं तर त्यसमा भने हामी सफल भएनौं । किनकि सबैका बाआमाले छोरो पढाई सकेर जागिर खानुपर्छ भने सोच्न थाले । फलस्वरुप हामीले मिलेर खेती गर्ने सपना सपनामै सिमित भयो । पढ्ने र आफ्नै गाउँठाउँमा कृषि क्षेत्रमै केही गर्नुपर्छ भन्ने मेरो सोंच थियो । मेरो सोंचमा आफै कृषि फर्म खोल्छु भन्ने थियो । तर घरमा भने कि लोकसेवा पढ् कि स्नातक पढ्नुपर्छ भने थियो ।

मैले घरमा भने कालिकोटमा बाटोघाटो राम्रो छैन सुर्खेतमा जग्गा भाडामा लिएर व्यावसायिक हिसाबले कृषि खेती गरौं, हिजो हामी निर्वाहमुखी मात्र खेती भयो भन्दा घरमा सुरुमा सहमत हुनुभएन । मैले धेरै विचार गरें । पछि मेरो घरपरिवार मैले गर्न खोजेको काममा सहमत हुनुभयो । र केही पैसा जोहो गरेर कृषि फर्म खोलियो । सो फर्मको नाम वसन्त अर्गानिक कृषि तथा पशुपन्छी राखियो । सो फर्म कालिकोटको शाखा थियो । २०७६ सालमा २ बिघा जग्गा भाडामा लिएर काम सुरु गरियो । नयाँ ठाँउ थियो । यहाँको सबै वातावरण बुझ्न एक वर्ष लाग्यो एक वर्ष यतिकै भाडा तिर्ने काम मात्रै भो । जग्गा घेरबार गर्न सकिएन जस्ले गर्दा राति छाडा गाईवस्तुले सारै दुःख दिने गर्थे ।

कहिले राति १२ बजेसम्म गाईवस्तु लखेटेर बाङ्गेसिमल त कहिले यरिचोक पुराउँथ्यौं । अनि घेरबारबिना नसकिने जस्तो भयो । घेरबार गर्न पैसा पनि नभएपछि अर्को ठाउँमा घेरबार गरेको १ बिघा जग्गा भेटियो र पहिलो जग्गा छोडेर नयाँ ठाउँमा सर्यौं । त्यहाँ सरेको दुई वर्ष भयो । कृषि कर्म गर्नका लागि धेरै चुनौती र समस्या छन् । जस्तै : उन्नत जातको बिऊ साह्रै महङ्गो पर्छ । केही त राम्रो फल्छ केहीमा भने पैसा मात्र खेर जान्छ । अर्को कुरा जग्गा भाडा पनि महङ्गो छ ।

माटोमा धेरै रासायनिक मलको प्रयोगले गर्दा माटो बिरामी भएको छ । गाईभैंसीको मल पनि महङ्गो छ । अलि अझै ठूलो मात्रामा व्यावसायिक खेती गर्ने सोंच भएपनि लगानी गर्ने मेरो घर परिवारसँग लगानी छैन । बैंकमा ऋण माग्न जाउँ भने हामीसँग बैंकमा राख्ने कुनै धितो छैन । हामी निम्नमध्यम वर्गको परिवारलाई जे गर्न पनि गाह्रो हुँदोरैछ सरकार ! हामी गरिब किसानका लागि देशमा सरकार छैन जस्तो लाग्छ !

यो  नेपाली समाज हो । कसैले केही भन्छ । कसैले कहिले कोही राम्रो भन्ने त कोही नराम्रो भन्ने आउनु हुन्छ । यस्तो किन दुःख गरेको ? यत्रो छ हजारको मल हालेर के गर्छौ ? छ रुपियाँ कमाई हुँदैन पनि भन्नुहुन्छ । तर उहाँहरु कै अगाडि हामी घर परिवारले मेहनत गरेर केही परिणाम निकालेको देखिपछि बोल्ने मान्छेहरु भने चुप लागेका छन् ।

हाम्रो घरमा कृषि सम्बन्धि सबैलाई राम्रो ज्ञान छ । जसले गर्दा सानो तिनो कृषिमा आउने समस्या हामी आफै हल गर्न सक्छौं । म कृषि पढेको भएपनि म भन्दा राम्रो ज्ञान र अनुभव बाबाआमासँग छ ।

सरकारको त के कुरा गर्नु । कृषिमा बजेट छुट्याएको त हुन्छ छुट्याएको जति साँच्चै सही ठाँउमा सदुपयोग वा कृषिमै लगानी गर्ने हो भने त अहिलेसम्म नेपाल कृषिमय हुनु पर्ने हा तर खै किसानको नाममा हुने खाने र ठुलाबडा मान्छेको रजाइँ भएको छ । जब स्थानीय सरकार आयो स्थानीय सरकारसँग केही सहयोग माग्न गएँ । हजुर त कालिकोट हो । हामीले यहाँको स्थानीयको लागि मात्र सहयोग गर्ने हो भन्नुहुन्छ ।

कृषि विकास निर्देशनालयमा पनि यस्तै यस्तै भनेका हुन्छन् । प्रदेश सरकारसँग गयो भने हामी स्थानीय सरकारलाई दिएका छौं तपाईंको बिचार राम्रो छ भन्छन् । हामीसँग बजेट छैन, संघीय सरकारसम्म पुग्नुस भन्छन् । काठमाडौं पनि नपुगेको होइन तर केन्द्रिय सरकार भन्छ कि हामीसँग केही छैन जानुस् प्रदेश सरकार र स्थानीय सरकारसँग छ । अनि त्यो बजेट भाषणमा कृषि क्षेत्रको लागि छुट्याएको बजेट खै सरकार ? ल ठिक छ, हामीलाई सरकारकै बजेट चाहिन्छ भन्ने छैन, कमसेकम सरकारले राम्रो खालको किसानको हित हुने नीतिमा काम त गर्नुस् ।

हामीलाई कहिले २५ रुपियाँ त कहिले १०० रुपियाँमा प्रतिकेजी बेच्नु भन्दा संधै एउटै मूल्यमा बेच्न पाइयोस् । किसानको उत्पादन कुहिने र बिचौलियाले भारतबाट बिषादी धेरै भन्दा धेरै प्रयोग गरेको खान लगाउने सरकार चाहिँदैन । यसरी जनताको स्वस्थमाथी पनि सरकारले खेलबाड गरिरहेको छ । यस्तै तरिकाले बिषादी प्रयोग भएको खाने कुरा खाँदै जाने हो भने दीर्घकालीन रोगले मान्छेहरुलाई सताउने र पछि गएर मान्छेको ज्यान नै जानेछ ।

अझै यसको प्रयोग यसरी नै हुँदै गयो भने देशमा विद्यालय भन्दा बढि अस्पताल खोल्नुपर्छ । नेपाल रोगीहरुको देश भनेर चिनिने हो कि भन्ने चिन्ता छ । उपचारको नाममा देशको पैसा अरु मुलुकमा बुझाएपछि अनि देशमा आर्थिक संकट त सुरु भैहाल्छ । देशको धेरै जमिन बाँझो छ । बेरोजगारीले गर्दा युवाहरुले गलत बाटो रोज्दैछन् । अलि केही गर्न सक्ने युवा शक्ति विदेशीएपछि कसरी बन्छ देश ?

राज्यलाई  मैले मेरो परिचय एक किसानको रूपमा दिएँ । के अब सरकार हामी किसानसँग हातेमालो गर्नसक्छ ? आउनुस् सबै मिलेर देशको अर्थतन्त्र बनाउनतिर लागौं र देशको पैसा बाहिर जानबाट रोकौं ।