• बैशाख २३ २०८१, आईतवार

रामेछाप-भँगेरीमा पुष्पलाल-गङ्गालालको सालिक अनावरण, सिर्जनानगरमा युद्ध-कला सङ्ग्रहालय भवन उद्घाटन

बैशाख ४ २०८१, मंगलवार

राजु कश्यप, सिर्जनानगर (रामेछाप) ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको जन्मस्थल भँगेरी (रामेछाप)मा पुष्पलाल–गङ्गालालको सालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष एवम् पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भट्टराईसहित वामपन्थी नेता–कार्यकर्ता र बौद्धिक समुदायका बीचमा दुई लालको सालिक अनावरण गरिएको हो ।

निरङ्कुश राणा शासनविरुद्ध गठित मुक्तिसेनाका योद्धा एवम् कवि हितप्रसाद उपाध्याय र सामाजिक रूपान्तरणकी अभियन्ता जूनमाया सुवेदीको स्मृति र सम्मानमा २०६३ सालमा स्थापित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा उक्त प्रतिष्ठानले २०७० साल माघमा निर्माण गराएको दुई लालको सालिक पुष्पलाल जन्मशताब्दीका अवसरमा अनावरण गरिएको हो । अभियानकै क्रममा सिर्जनानगरस्थित प्रतिष्ठान परिसरमा निर्मित हित–जून युद्ध–कला सङ्ग्रहालय भवन पनि पार्टी प्रवक्ता कञ्चन र पार्टीका युवा नेता पूर्णबहादुर सिंह ‘समरजङ्ग’ले संयुक्त रूपमा उद्घाटन गरे ।

पुष्पलाल–गङ्गालाल सालिक अनावरण कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् प्रवक्ता कञ्चन, पुष्पलाल अध्ययन समाजका अध्यक्ष तथा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भट्टराई, पार्टी सचिवालय सदस्य प्रा. डा.जगदीशचन्द्र भण्डारी, पार्टी सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’, पुष्पलाल जन्मशताब्दी समारोह समितिका सदस्यहरू गोपीरमण उपाध्याय, रामबहादुर भण्डारी, मुकुन्द आचार्य, सावित्री अधिकारी भट्टराई, हरिहर खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. कौशिला रिसाल, पार्टी सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी, पार्टी केन्द्रीय सदस्यहरू माधव गौतम ‘विनयराज’, बद्री चौलागाईं ‘आमोद’, विनोद थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापका इन्चार्ज लाङ्घाली मगर, जिल्ला संयोजक कृष्ण सेवा, माक्र्सवादी कवि एवम् ललितकलाकर्मी अग्निराज पौडेल ‘अराप’, कवि राधा दुलाल कार्की, जनकवि रसुवाली कवि, पार्टी प्रदेश सदस्य तथा महिला सङ्गठन रामेछापकी संयोजक सीता गौतम, रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने, नानीमाया श्रेष्ठ, माओवादी केन्द्रका मोतीलाल तामाङ, सालिक निर्माण स्थलका श्रमिक सन्तोष शाहीलगायतले पुष्पलाल, गङ्गालालका योगदानका साथै संस्थाले गर्दै आएको कामको चर्चा र प्रशंसा गरे ।
पुष्पलाल–गङ्गालाल जन्मस्थलमै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछाप र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा ३५औँ जनआन्दोलन दिवस पनि मनाइएको थियो । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन संस्थाका अध्यक्ष अशोक सुवेदीले गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापका संयोजक कृष्ण सेवाले शब्दले र प्रतिष्ठानका इन्दिरा सुवेदी बराल र सङ्गीता तामाङले खादाले अतिथिको स्वागत गरेका थिए ।

कार्यक्रममा सिर्जनानगर–भँगेरी सिर्जनायात्राका क्रममा पचासभन्दा बढी स्रष्टाद्वारा लिखित तथा अशोक सुवेदीद्वारा सम्पादित ‘अमर बस्तीको यात्रा’ पुस्तक प्रमुख अतिथि कञ्चन र विशिष्ट अतिथि लोककृष्ण भट्टराईले लोकार्पण गरेका थिए भने माक्र्सवादी समालोचक प्रा.डा. जगदीशचन्द्र भण्डारी र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा.कौशिला रिसालले समीक्षा गरेका थिए ।

अभियानकै क्रममा मन्थली नगरपालिकाको सिर्जनानगरमा संस्थाले निर्माण गरेको हित–जून युद्ध–कला सङ्ग्रहालय भवन उद्घाटन गर्नुका साथै सङ्ग्रहालय, ललितकला कक्ष र पुस्तकालयको अवलोकन गरिएको थियो । प्रतिष्ठानको नियमित कार्यक्रमअन्तर्गत हित–जून स्मृति भवनमा आयोजित साहित्यिक कार्यक्रममा अतिथि-अप्रतियोगी कविका रूपमा प्रा. डा.जगदीशचन्द्र भण्डारी, अग्निराज पौडेल ‘अराप’, डा. कौशिला रिसाल, ढुण्डीराज अधिकारी, रसुवाली कवि, राधा दुलाल कार्की, माधव गौतम, अशोक सुवेदीलगायतले कविता वाचन गरेका थिए भने विद्यार्थी अम्बिका विक र सङ्गीता तामाङले स्वागत र आमा गीत प्रस्तुत गरेका थिए ।

डा. कौशिला रिसालको संयोजकत्वमा गठित रसुवाली कवि, अग्निराज पौडेल ‘अराप’ र राधा दुलाल कार्की सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगी कविहरूका कविता अध्ययन गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान घोषणा गरेका थियो । कविता प्रतियोगितामा समीक्षा सुवेदी, प्रजु केसी, स्वस्तिका खड्का, राधिका सुवेदी, दीपिका सुवेदी, कञ्चन सुवेदी, प्रकृति सुवेदी, सुप्रिया कार्की, निशिका सुवेदी, आयुष काफ्लेलगायत पुरस्कृत भएका थिए ।

प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको असल बुहारी–छोरा सम्मान यस वर्ष सिर्जनानगरकी असल बुहारी कविता सिग्देल चापागाईं–दिवाकर चापागाईंलाई नगद पाँच हजार, दोसल्ला र सम्मानपत्रसहित प्रमुख अतिथि कञ्चन, विशष्टि अतिथिहरू लोककृष्ण भट्टराई, पूर्णबहादुर सिंह र प्रतिष्ठानकी उपाध्यक्ष इन्दिरा सुवेदी बरालले प्रदान गरे ।

कार्यक्रममा जूनमाया सखी सम्मान ओखलढुङ्गाकी श्रमिक नानीमाया श्रेष्ठलाई, अन्तरजातीय विवाहित जोडी सम्मान सिर्जनानगरका सम्झना बुढाथोकी-उपेन्द्र नेपाली दम्पतीलाई, सखा सम्मान मन्थली २ टेकनपुरका चतुरे सार्कीलाई, लोकबाजा (पन्चैबाजा) सम्मान ६ हजार रुपैयाँसहित रमेश नेपाली समूहलाई, अग्रज लोककलाकर्मी सम्मान मन्थली ३ का ८५ वर्षीय टीकाराम दर्जीलाई, असल श्रमिक सम्मान सिर्जनानगरका प्रदीप विकलाई, घरफिर्ती सम्मान सिर्जनानगरका यज्ञप्रसाद (विष्णु) सुवेदीलाई, सङ्ग्रहालय काष्ठदाता सम्मान टङ्कराज सुवेदी, मन्थली १, मच्छेडाँडी, जगन्नाथ सुवेदी मन्थली १, मच्छेडाँडी, हिरण्यबहादुर सुवेदी (हरि) मन्थली १, सानीमदौ (सिर्जनानगर), तारानिधि सुवेदी, मन्थली १, मच्छेडाँडी, मन्थली माध्यमिक विद्यालय, मन्थली १, मन्थली, राजन रोका, मन्थली १, सिर्जनानगर (सानीमदौ), सानीमदौ बन उपभोक्ता समूह, मन्थली १ सिर्जनानगर (सानीमदौ) लाई प्रदान गरिएको थियो ।

हित–जून स्मृति खुला भलिबल प्रतियोगितामा विजेतामध्ये प्रथम हुने सोल्मारी युवा क्लबका रोशन मगर, शिव कार्की, कुशल चौलागाईं, कोसिस ढकाल, सुजन खड्का, शान्तिराज कार्की, कृष्णप्रसाद चौलागाईं, प्रवीण थापा, सुनिल श्रेष्ठ, रमेश चौलागाईं र पर्वत मगर समूहलाई दस हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्ने भटौली युवा क्लबका बुद्धिराज माझी, अशोक घिसिङ, दिनेश थापा, सचिन ढकाल, ज्ञानबहादुर तामाङ, रमेश माझी, अविनाश माझी, सुरेश माझी, जेनिश खत्री र रमेश पौडेल समूहलाई पाँच हजारसहित प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने सानीमदौ सोसियलसिटी युवा क्लबका रोशन राउत, प्रवीण थापालगायत समूहलाई दुई हजारसहित प्रमाणपत्र प्रमुख अतिथि कञ्चन, विशिष्ट अतिथि पूर्णबहादुर सिंह, अतिथिहरू माधव गौतम, विनोद थापा, सीता गौतमलगायतले प्रदान गरेका थिए । भलिबल प्रतियोगिता प्रदेशस्तरीय निर्णायक राजु थापामगरले खेलाएका थिए ।

अभियानमा लामबद्ध पार्टी प्रवक्ता कञ्चन, वामपन्थी बुद्धिजीवी लोककृष्ण भट्टराई, पार्टी सचिवालय सदस्य प्रा. डा. जगदीशचन्द्र भण्डारी, डा.कौशिला रिसाल, संस्थाका अध्यक्ष अशोक सुवेदीलगायत सम्पूर्ण अतिथि कम्युनिस्ट आदर्श अवलम्बन गर्दै श्रमकार्यमा सहभागी भई भलिबल मैदान सम्यानउने र सफा गर्ने काममा सहभागी भएका थिए । कार्यक्रम अवधिभर स्थानीय लोकबाजा (पन्चैबाजा) समूहले वाद्यवादनका साथै गायन र नृत्य प्रस्तुत गरेको थियो ।