• बैशाख २३ २०८१, आईतवार

पार्टीको रुपान्तरणको शुरुवात अध्यक्ष प्रचण्डबाट हुन जरुरी छः लक्ष्मण पन्त

भाद्र २९ २०८०, शुक्रबार

माओवादीमा अहिले रुपान्तरणको प्रश्न जोडतोडका साथ उठिरहेको छ । पार्टी रुपान्तरणको विषय उठेसँगै नेतृत्व परिवर्तन या रुपान्तरण भन्ने विषयमा पनि माओवादीको केन्द्रीय सदस्यहरुको जोड छ । झण्डै ४ दशकदेखि एउटै नेतृत्वले पार्टीको शासन चलाइरहेको अबस्थामा माओवादीको केन्द्रिय कमिटि बैठकमा नेतृत्वको रुपान्तरण हुन नसके नेतृत्व परिवर्तनसम्मका कुरा उठे । नेतृत्व सधै निरंकुश बन्ने र तल्लो निकायको कुरा नसुन्ने प्रवृत्ति बढेको भन्दै माओवादीकै केन्द्रिय सदस्यले पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । आलोचना गर्ने मध्येका एक थिए । नेकपा माओवादी केन्द्रका कन्द्रिय सदस्य लक्ष्मण पन्त । पन्त केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यबाहक इन्चार्ज हुन् । उनै पन्तसँग गोलखबरले गरेको कुराकानीको सारसंक्षेप

 माओवादीको पार्टीको रुपान्तरणको विषय तपाईले जोडतोडले उठिरहदाँ अहिलेको यहि अबस्थामा तपाईको पार्टी रुपान्तरण हुन्छ जस्तो लाग्छ ?
– पहिलो कुरा पार्टीले प्रतिबद्धता जनायो भने रुपान्तरण नहुने कुरा भन्ने हुँदैन । असम्भव भन्ने कुरा नेपालमा छ जस्तो लाग्दैन । जस्तै २ सय ४० वर्षको राजतन्त्र ढल्यो । राजा महाराजाको शाहबंशीय परम्परा अन्त्य भएसँगै नयाँ-नयाँ पार्टीको उदय भइरहेछन् । पार्टीहरु लोकतन्त्र र जनवादको नाममा जन्मे । पार्टीहरु कतिपय सफल पनि भए होलान् कतिपय असफल। अब ति पार्टी रुपान्तरण हुँदैनन् भने सकिने हो । अध्यक्ष प्रचण्ड आफैले दस्तावेजमा लेख्नु भएको छ कि सक्किने या सच्चिने । हाम्रा सामु दुई विकल्प मात्रै बाँकी छन् । सच्चिनु पर्छ भन्ने लाग्छ । सच्चिने विषय कहाँबाट शुरु गर्ने भन्ने विषय मुख्य प्रश्न हो । त्यो पार्टी अध्यक्षबाट शुरु हुनु जरुरी छ । यो कुरा माओवादी पार्टीको मात्रै होइन सिंगो नेपाली राजनीति र पार्टीहरुमा पनि हुन जरुरी छ । राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आयो तर परिवर्तन के भयो भन्ने विषय मुख्य रुपमा अहिले उठिरहेको छ । जनताको अभिमतबाट शासन गर्ने प्रणालीमा कुनै व्यक्तिको बिचार र नीति हावी हुने भन्ने कुरा होइन । नीजि विचार र आफ्नो नीति लागू गर्ने कुरा हिजो राजतन्त्रमा हुन्थ्यो अब हामी त्यही कामको निरन्तरता पार्टीमा हुनु हुँदैन । दलहरु भित्र प्रजातन्त्र भएन । चाहे माओवादी, एमाले र काँग्रेस नै किन नहोस् । दलहरुमा व्यक्ति मुख्य भए दल मुख्य भएनन् । व्यक्ति मुख्य त पहिला राजतन्त्रमा पनि थियो । विद्यायिका संस्था थियो त्यति बेला के थियो भन्दा दरबारले गरेको निर्णयलाई लालमोहर लगाउने मात्रै काम हुन्थ्यो अब त्यो हुन भएन ।

हाम्रो लोकतन्त्रमा पनि अहिले माओवादीमा प्रचण्ड, काँग्रेसमा शेरबहादुर देउवा र एमालेमा केपी शर्मा ओलीले आफूखुसी निर्णय गर्ने र केन्द्रिय कमिटिमा ताली बजाउने काम मात्रै हुन गयो । यसो हुँदा हाम्रो अहिलेको प्रणाली र राजतन्त्रात्मक प्रणालीमा के फरक रह्यो त ? गणतन्त्र आवश्यक भए गणतन्त्र अनुकुलका पार्टी बन्न प-यो । जुन सबै पार्टीका नेतृत्व सच्चिनुको विकल्प छैन ।

तपाईले रुपान्तरणको कुरा त गर्नुभयो, नेतृत्वबाट टाढा भइन्छ भनेर चाकरीबाद र जयजयकार गाउने प्रवृत्ति माओवादीमा देखिन्छ । रुपान्तरणको कुरा प्रचण्डले हिजोका दिनमा पनि गरिरहेका थिए । उनको जालसाजीलाई अब कसरी पत्याउने ?
– हाम्रो पार्टी केन्द्रिय बैठक रुपान्तरणको विषयमा ब्रेक थ्रु गर्यो । म लगायत धेरै साथीहरुले रुपान्तरणको कुरा उठाउनु भयो । जस्तो कृष्णबहादुर महराले रुपान्तरण नेतृत्वबाट हुनुपर्छ भन्ने कुरा बैठकमा राख्नु भयो । त्यस्तै जनार्दन शर्माले समाजवादी क्रान्ति होइन पार्टीमा लोकतान्त्रिकरण र विधिको कुरा पहिला हुनुपर्छ भन्ने कुरा राख्नु भयो । पार्टीमा नेतृत्वका विषयमा लागेको कुरा भन्न सक्ने वातावरण पार्टीमा हुनुपर्छ । रुपान्तरणको विषयमा हाम्रो पार्टीमा यस्तो बैठक एतिहासिक हो । एमालेमा त यस्तो विषयमा बहस नै हुँदैन, बोरु काँग्रेसमा असन्तुष्ट स्वर देखिन्छ । फरक विचार राख्न पाइने स्वतन्त्रता छ तर गोलचक्करमा घुमेजस्तो देखिन्छ । कांग्रेसमा देउवा जी पाँच पटक प्रधानमन्त्री किन बन्नुप¥यो अरुले किन अबसर नपाउने भन्ने विषय उठ्दैनन् । बोरु हाम्रो पार्टीमा नेतृत्वलाई प्रश्न गर्ने र रुपान्तरणको विषयमा पहिलो पटक आवाज उठ्यो । प्रचण्ड कमरेड निरंकुश हुनुहुन्छ, उहाँमा हजारौ समस्या छन् तर उहाँ अहिले आएर प्रजातान्त्रिक देखिनु भएको छ । उहाँमा आलोचना सहन सक्ने शक्ति पनि रहेछ भन्ने देखियो । अन्त्यमा उहाँले भन्नुभयो कतिपयले आलोचना गर्नुभयो, कतिले कठोर शब्द प्रयोग गर्नुभयो जसले पार्टीलाई नयाँ उचाइमा उठाउन मद्दत पुगेको सुन्दर संश्लेषण गर्नुभयो ।

अब प्रजातन्त्र चाहने साथीहरु काँग्रेस, एमालेमा होइन, माओवादीमा आउनुस् भन्न चाहन्छु । अब हाम्रो तीन महिने अभियान हामी सबै रुपान्तरण हुनुपर्छ र जनतामा जानुपर्छ र जनताको गुनासो सुन्नुपर्छ । अब नयाँ संश्लेषणसहित मंसिरमा विधान सम्मेलनबाट नेतृत्व को बन्ने, कस्तो बन्ने कति जना बन्ने, कति जनाको केन्द्रिय कमिटि बन्ने तय हुन्छ । त्यसको दुई महिनापछि महाधिवेशनबाट प्रचण्ड जीसहित सबै बाकस थापेर कार्यकर्ताबीच जाने र उम्मेद्वारी दिने र जित्नेले पार्टीको नेतृत्व गर्नेछ ।

अब आउने नेतृत्व लोकतान्त्रिक विधिबाट हुन्छ भन्नुभयो त्यसो भए फेरी प्रचण्डकै नेतृत्व आउँछ वा अरु पनि आउन सक्ने सम्भावना बलियो छ ?
– अबका नेतृत्व मनोनयबाट होइन, टिका लगाएर होइन, ताली बजाएर होइन, लोकतान्त्रि पद्धतीबाट बाकस थापेर जसले बढी मत ल्याउँछ उ नै नेतृत्वमा पुग्छ । उही प्रवित्ती देखियो भने चुप लागेर बसिन्न संघर्ष हुन्छ । अध्यक्षले पनि अब हामी चुनावमा जाने र कसैलाई पनि टिका लगाएर नेता बनाउँदैनौ भनेको हुनाले विश्वास गर्ने आधार छन् । उहाँले भनेका कुरा कतिको कार्यान्वयन हुन्छ त्यो भावी दिनमै देखिएला । अब चाँही पार्टीले नयाँ कोर्स लिन्छ, नेतृत्व चयनको विधि, नीति निर्माणको तरिका र योजना कार्यान्वयनको तरिकाको विषयमा उच्च छलफलको माध्यमबाट नयाँ निर्णयमा जानेछौ ।

 तपाईको पार्टीको नेतृत्व भ्रष्टीकरण हुँदै गइरहेको छ तर रुपान्तरण हुन सकेको देखिदैन, यसै गरी तपाईको पार्टी चल्दै जादाँ तपाईको पार्टीले आफ्नो कार्यदिशा भेट्न सक्ला ?
– नेतृत्वको भ्रष्टीकरण भन्ने कुरा यो धेरै गम्भीर कुरा पनि हो । भ्रष्टीकरण यो सामान्य रुपमा भौतिक रुपमा घुसको लेनदेन वा अन्य अनैतिक कामसँग मात्रै नजोडिएर नीतिगत रुपमा पनि भ्रष्टीकरण हुने कुरा छ । हाम्रो नेतृत्व भ्रष्टीकरण भए र पार्टीको नेताहरु विग्रिए भन्ने कुरा आइरहेछ । हाम्रो पार्टीले जुन नीति र मार्गमा अघि बढिरहेको छ जस्तो जो सुकै भ्रष्टाचारको काण्डमा मुछिएको किन नहोस् सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्छ भने प्रधानमन्त्री प्रचण्ड स्वयमले भन्नु भएको छ । यदि प्रधामन्त्री पनि भ्रष्टाचारमा मुछिन्छ भने मलाई पनि नछाड्नुस् भन्नु भएको छ यो एउटा प्रचण्डको ठूलो एउटा कथन हो । यस्तो विषयमा पहिलाका प्रधानमन्त्रीले बोलेको हामीलाई थाहा छैन ।

प्रचण्डले भ्रष्टाचार प्रकरणमा मलाई पनि नछोड्नु त भन्नुभयो तर, आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सँगै अंकमाल गरेर हिडिरहेका छन् प्रचण्डको अभिव्यक्ति र व्यवहार फरक भएन र ?
– सुन काण्डमा प्रश्न उठेपछि पार्टीका जुन सुकै नेता निलम्बन हुनुपर्ने हो तर त्यो भएन । तपाईको प्रश्न ठिक हो । सुन प्रकरणमा प्रश्न उठेपछि सम्बन्धित पदबाट निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाइनु विश्वव्यापी प्रचलन नै हो । महरा जीको छोरा राहुल महरा प्रहरीले पक्राउ गरिसकेको छ । भोलीको दिनमा कृष्णबहादुर महरा पनि पक्राउ परेर अनुसन्धानको दायरमा आउँछन् भन्ने मलाई विश्वास छ ।

तपाईहरुको कम्युनिष्ट पार्टीमा मुल नेतृत्वले समस्या अरुलाई थोपरेर पन्छिने परम्परा जो छ त्यो माओवादीभित्र व्याप्त रुपमा देखिन्छ यो अबस्थाले हेर्दा कसरी रुपान्तरण होला ?
– यो एकदम गम्भीर कुरा हो । कुनै पनि समस्याको मुल जड मुख्य नेतृत्वमा नै हुन्छ । परिवार बिग्रियो भने त्यसको अपजस त्यो परिवारको मुखियाले लिनुपर्छ भने जस्तै एउटा राष्ट्र विग्रियो भने त्यसको अपजस राष्ट्र निर्माताहरुले लिनुपर्छ । एउटा पार्टी बिग्रियो भने पार्टीको मुल नेतृत्वले लिनुपर्छ । तर हाम्रोमा के छ भने त पनि बिग्रिस म पनि बिग्रेको हो भन्ने सामान्यकरण गर्ने प्रचलन छ । माओवादी पार्टी अध्यक्षका कारण विग्रिएको भए प्रचण्डबाट रुपान्तरण शुरु गर्न प¥यो भन्ने मान्यता मेरो छ । समस्या अरुमा खोजेर होइन समस्या समाधान हुँदैन अध्यक्ष प्रचण्डले आफैमा खोज्नु पर्छ ।

कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको समस्या कसरी हल गर्न सकिन्छ ?
– यो समस्या जर्बजस्त रुपमा रहेको छ । कम्युनिष्ट पार्टीमा व्यक्ति पूजा गर्ने प्रवृत्ति छ । व्यक्तिलाई समाजभन्दा माथि ठान्ने । व्यक्तिलाई राष्ट्रभन्दा माथि ठान्ने । यो प्रणाली कस्तो देखिन्छ भन्दा यो सामान्तबाद प्रवृत्ति हो । राजामहाराजाालाई संस्था ठान्ने प्रवृत्ति अहिले कम्युनिष्ट पार्टीमा देखिएको छ । अर्कोतिर विश्वको इतिहासमा पनि हेर्दा चाहे, चीन होस् या रुसको स्टालिनमा, क्युवाको कुरा गर्दा नेतालाई देवत्वकरण गर्ने समस्या जर्बजस्त रुपमा देखिएको छ । यो समस्या भनेको पार्टीलाई लोकतान्त्रिकरण कसरी गर्ने भन्ने हो । कम्युनिष्ट पार्टीमा काम कारबाहीमा एकता, अभिव्यक्तिमा स्वतन्त्रता भन्ने नियम छ । कम्युनिष्ट पार्टीमा लोकतान्त्रिक समस्या हुनु भनेको कम्युनिष्ट पार्टीकै बिधी र सिद्धान्त विपरित छ । कम्युनिष्ठ पार्टीमा लेनिनबादी संगठनात्मक सिद्धान्त लागू हुन लोकतान्किरणमा समस्या हुने थिएन । तर, यहाँ त व्यक्ति पुजा गर्ने प्रवित्ति मौलाउँदै गएको छ ।

 हिजो राजाको विरोध ग-यो, अहिले माओवादी पार्टी नै राजा महाराजा प्रवृत्ति बढिरहेको जनताले प्रत्यक्ष देखिरहेका छन् । शासन सत्ता आएपछि सबै राजा बन्ने प्रवित्ति हुने रहेछ भन्ने आम जनमानसले भनिरहेको अबस्था छ । तपाईहरुले चाँही यो प्रवृति ठिक चलिरहेछ भन्ने ठान्नु भएको त होला ?
– माओवादी पार्टीको विडम्बना के छ भने । ८–१० जनाको पदाधिकारीको कमिटि छ । त्यो अहिले सेरेमोनियल छ । त्यो वास्तविक पार्टी भएन । कम्युनिष्ट पार्टीमा सबै समान हुन् एउटा चाँही मुख्य नेता हुन्छ भन्ने छ । तर, के भयो भन्दा पदाधिकारी अहिले अप्रिय शब्दमा भन्नुपर्दा जिउँदो लास जस्तो देखिन्छन् । केही नबोल्ने, के को डर हो, सायद भ्रष्टाचारमा संलग्न भएका कारण मेरो पनि पोल खुल्छ भन्ने भएर नबोलेको हो कि? अथवा प्रचण्डविरुद्ध बोले भने उहाँको हातमा शासनसत्ता छ मलाई भोली जेल नेल हुन सक्छ भन्ने डर हो कि? केन्द्रिय पदाधिकारी र स्थायी कमिटिको साथीहरुलाई मेरो प्रश्न छ । माओवादीको केन्द्रिय पदाधिकारीहरु जिउँदोहरुको लास मात्रै बन्यो । यस्तो भएपछि तानाशाही र निरंकुश त हाबी हुन्छ । यस्तो हुदाँ निरंकुशतालाई मलजल गर्छ । व्यक्तिगत स्वार्थ र नीजि लाभहानी केही छैन भने सहि र गलत छुट्याउन सक्नुपर्छ । होइन भने लाभको लागि मात्रै पार्टीमा लागेको देखिन्छ । आलोचनात्मक चेतना हुँदैन भने त्यो कम्युनिष्ट हुन सक्दैन । पार्टी विग्रियो को, किन र कसरी बिग्रियो भन्न सक्दैन भने त्यो कम्युनिष्ट हुदै होइन ।

माओवादी पार्टीका नेताहरु तस्करी र सुन काण्डमा जोडिरहेका छन् । बजारमा माओवादी भन्ने वित्तिकै विचौलिया र तस्करसँग साइनो गास्ने पार्टी भन्ने भास्य नागरिकले गरिरहेका छन् । तपाई यो प्रकरणलाई कसरी बुझ्नुहुन्छ ?
– काण्डहरुमा जोडिने कुरा मलाई के लाग्छ भने हावा नचली पात हल्लिदैन । अब यो सुन काण्डमा कुनै सामान्य नागरिक जोडियो भन्ने आउँदैन । बोरु सुन काण्डमामा नेताहरुको नाम आइरहेको छ । अर्कोतर्फ के हो भने नेपालमा अपवाह पनि फैलने गर्छ त्यो कत्तिको सत्य छ भन्ने कुरा पनि हेरिनुपर्छ । कसैलाई सिध्याउनु छ भने कुनै न कुनै काण्ड लगाइदिने । जस्तो म एउटा उदाहरण दिन चाहन्छु, पम्फादेवी ठकुरीको खर्बो रुपैयाँ स्वीस बैंकमा जम्म छ भन्ने आयो । रानी एश्वर्य मरेको पनि २२ वर्ष भइसक्यो तर, सो बैंकमा १ पैसा पनि देखिएन । एउटा हावा नचली पात हल्लिदैन भन्नेमा पनि बुझ्न सकिन्छ अर्को अपवाह पनि हुनसक्ने कुरामा ध्यान दिनुपर्छ । नेताहरुमाथि आरोप लागेपछि निलम्बन गरेर स्वच्छ निष्पक्ष छानबिन हुनुपर्ने कुरा सबैभन्दा सर्वोत्तम तरिका हो । नैतिकता र मूल्य मान्यता पनि त्यही हो । माओवादी पार्टी गम्भीर छैन भन्ने कुरा होइन । हाम्रो पार्टीको केन्द्रिय कमिटिको बैठकमा पनि कुरा उठ्यो । महरा कमरेडले आफैले पनि खण्डन गर्नुभयो । उहाँले प्रष्टीकरण दिनुभयो,वर्षमान जीले पनि प्रष्टीकरण दिनुभयो । प्रधानमन्त्रीले पनि जो कोही भए पनि छाडिन्न भनिसक्नुभयो ।

तपाईले भनेको कुरालाई आधारमान्दा सबै छानबिनको दायरामा आउँछन् भन्नु भयो । जस्तो उदाहरण ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड र सुन तस्करी काण्डमा त चामल निफने जस्तो गरी लिष्ट तयार बनाएर मुद्दा चलाइरहेको अबस्था त प्रष्ट देखिन्छ नि ?
– हाम्रो पार्टीको नेतृत्वको भनाई हेर्दा सकारात्मक नै देखिन्छ । सारमा गएर हेर्दा भुटानी शरणार्थी छानबिन गरिरहेका प्रहरी अधिकृतहरु सरुवा हुन्छन् । एउटा प्रश्न त उब्जेको छ । किन सरुवा भयो त्यो गृहमन्त्री जवाफदेही हुनुपर्छ । किन उन्मुक्ति दिइयो , के ले रोक्यो छानबिन गर्न । ठूला नेतालाई हिरासतमा लिएर बयान लिन के ले रोकिरहेछ । जब कु्रा उठेपछि सीआईबीमाथि मात्रै होइन सरकारमाथि प्रश्न उठिरहेको छ । शंका उब्जेको छ । तलको माथिलाई छोपेर राजनीतिक लाभ लिने र माथिको तहकालागि जोगाउने हो भने त्यो चाँही एउटा गम्भीर दुखद् विषय हुनेछ । यो विषयमा पार्टीमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठ्नेछ । सत्ता जोगाउने नाममा त्यस्तो गरिएको हो भने आफ्नै लागि घातक हुनेछ ।