काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।
शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठकस्थल पुगेका थिए । उनीहरुले ओलीसँग एमाले एकताका लागि एकलौटी बैठक गर्न नहुने भन्दै बैठक रोकेर सहमतिका लागि अघि बढ्न आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।
‘दुई नेताबीच कुराकानी गर्ने र कार्यदलको सहमति अुनसार जाऔं । पार्टीको एकताका लागि हामी प्रतिबद्ध छौं । हामीबाट सहयोग रहन्छ । सबैभन्दा बढी पार्टी अध्यक्षले सोच्नपर्यो, त्यसपछि वरिष्ठ नेताले सोच्नपर्यो भनेर हामीले आग्रह गर्यौं । तर पार्टी अध्यक्षले धेरै केही भन्नु भएन । यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडि बढाउनुस् भन्नुभयो । त्यसपछि यिनै कुरामा बैठक अगाडि बढ्ने हो भने हाम्रो सहभागिता छैन । हामी हिड्यौं भनेर निस्कियौं,’ बैठकस्थलबाट बाहिरिए पछि नेता रावलले पत्रकारहरुसँग भने ।