• कार्तिक १० २०८३, सोमबार

जागरण अभियानको लागि नेपाली कम्युनिस्ट पार्टीका कुन कुन नेतालाई कहाँ कहाँ दिइयो जिम्मेवारी ?

कार्तिक १० २०८३, सोमबार

काठमाडौँ l नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कात्तिक ७ गतेदेखि सञ्चालन गरेको ‘राष्ट्रिय जागरण अभियान’ का लागि नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन गरेको छ।

पार्टीको केन्द्रीय संयोजन समिति बैठकका निर्णयहरू समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–५’ अनुसार केन्द्रीय नेतादेखि स्थानीय तहसम्मका कार्यकर्तालाई आ–आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा खटाउने निर्णय गरिएको छ ।

अभियानलाई व्यवस्थित, प्रभावकारी र जनकेन्द्रित बनाउन पार्टीले आफ्ना सबै तहका नेता–कार्यकर्ताको जिम्मेवारी तोकेको छ।

निर्देशनअनुसार केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई उनीहरू मतदाता रहेका सम्बन्धित प्रदेशहरूमा जिल्ला समन्वयको जिम्मेवारी दिएर खटाइएको छ। उनीहरूले प्रदेश समितिसँग समन्वय गरी जिल्ला पार्टी समितिहरूसँग नियमित सम्पर्क, अनुगमन, मार्गदर्शन र सहजीकरण गर्नेछन्। यसले राष्ट्रिय जागरण अभियान र सङ्गठनात्मक सुदृढीकरणलाई तीव्रता दिने विश्वास पार्टीले लिएको छ।

पार्टीले गत निर्वाचनमा उम्मेदवार रहेका नेताहरूलाई आफू उम्मेदवार बनेकै निर्वाचन क्षेत्रमा अनिवार्य खटिन निर्देशन दिएको छ। यस्तै, पार्टीका केन्द्रीय सदस्यहरूले स्थानीय तहअन्तर्गत पालिका र वडा स्तरमा सञ्चालन हुने अभियान टोलीको प्रत्यक्ष नेतृत्व गर्नेछन्। प्रादेशिक जिम्मेवारीमा नरहेका केन्द्रीय सदस्यहरूलाई पनि मतदाता नामावली रहेको प्रदेशअन्तर्गत नै खटाइनेछ।

विभाग, मोर्चा र जनवर्गीय सङ्गठनको जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताहरू समेत आफ्नै मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुनुपर्ने अपानिमा उल्लेख छ। प्रवासमा रहेका पार्टी पङ्क्तिलाई भने उनीहरू कार्यरत रहेकै देशमा अभियानसँग जोड्ने गरी सम्बन्धित प्रदेशले कार्यविभाजन गर्ने व्यवस्था मिलाइएको छ।

प्रदेश समितिहरूले आ–आफ्ना प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यहरूसँग समन्वय गरी सङ्गठनात्मक, वैचारिक र जनपरिचालनका कामहरू प्रभावकारी रूपमा अगाडि बढाउने पार्टीको निर्देशन छ।