• कार्तिक १० २०८३, सोमबार

आनी छोइङको नियुक्तिविरुद्ध ‘राष्ट्रिय जेन्जी नागरिक अभियान’ले माइतीघरमा विरोध सभा गर्ने

कार्तिक १० २०८३, सोमबार

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गर्ने सरकारी निर्णयप्रति ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ ।

अभियानको केन्द्रीय समितिले आइतबार एक सूचना जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मिति गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सो नियुक्ति निर्णयप्रति आपत्ति जनाएको हो ।

अभियानका अनुसार, आनी छोइङ डोल्मामाथि नागरिकता किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।

अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरण सम्बन्धमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्नुपर्ने तथा यस नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।

यसै सन्दर्भमा अभियानले कार्तिक ९ गते सोमबार (भोली) बिहान ११ः०० बजे काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध सभा आयोजना गर्ने तय गरेको छ।

उक्त विरोध कार्यक्रममा उपस्थितिका लागि अभियानले सम्पूर्ण जेनजी बौद्ध धर्मावलम्बी, नागरिक समाज, सरोकारवाला तथा पत्रकारहरूलाई सादर अनुरोध गरेको छ ।