काठमाडौँ। काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार राति करिब १० बजे ठमेलको जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको होटलमा चिनियाँ नागरिकहरु जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका छन्।
उनीहरूको साथबाट १ लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद गरिएको छ ।
उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ ।