चितवन । चितवनको राप्ती नगरपालिका बस्ने सुजिता भण्डारीको हत्या प्रकरणलाई लिएर प्रदर्शन हुनथालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले हिंसात्मक प्रदर्शन हुन सक्ने भन्दै कर्फ्यू आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्म कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्मको राजमार्गको ५ सय मिटरसम्म पर्ने सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाइएको छ ।
आदेशको उल्लंघन गर्नेलाई तत्काल गिरफ्तार गरेर एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुने उल्लेख गरिएको छ ।