• कार्तिक १२ २०८१, सोमबार

तिहारको लोकप्रिय परिकार ‘झिनिया’

कार्तिक १२ २०८१, सोमबार

चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनिया तयार हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । तिहार पर्वबाहेक हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग अझ बढ्दै गएको छ ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ । पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।

हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुने गर्छ। चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ।