• बैशाख २२ २०८३, मंगलवार

युवा र विद्यार्थीद्धारा मूल्यवृद्धि विरुद्ध मोटरसाइकल डोर्याएर प्रदर्शन

असार २५ २०७८, शुक्रबार

हेमन्त वली असार-२४, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) ले सरकारले बढाएको पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेका छन् । दुवै संगठनका जिल्ला समिति दाङले संयुक्त रुपमा प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजीको माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि र चितवनकी युवती सुजीता भण्डारीको हत्याका विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम जिल्लाका दुई मुख्य शहर घोराही र तुलसीपुरमा आयोजना गरिएको थियो ।

तुलसीपुरमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले कोरोनाले जनता आक्रान्त भएको बेला ढाड सेक्ने गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे । नेपाली जनताले सरकारको अनुभूती गर्न नपाएको र जनता र राष्ट्रको मुक्तिको लागि आफूहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको खड्काको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपाल दाङका जिल्ला इन्चार्ज मनोजले चितवनकी युवती सुजीता भण्डारीको हत्यारालाई कार्वाहीको माग गरे । देशमा भइरहेका हत्या, हिंसा, बलात्कार, अपहरण जस्ता जघन्य अपराध राज्यकै संरक्षणमा भइरहेको उनको आरोप छ ।

सांकेतिक रुपमा मोटरसाइकल डोर्याएर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गरिएका प्ले कार्ड लगाएत सामाजिक विकृति र विसंगति विरुद्ध सचेतनामूलक प्ले कार्डहरु प्रदर्शन गरिएको थियो ।