• मंसिर ११ २०८१, मंगलवार

महिलामाथि दमन गरेर तालिवानले मुस्लिमको बेइज्जत गरेका थिए, अब के गर्छन् हेर्न बाँकी छ : समिन अहमद

भाद्र ४ २०७८, शुक्रबार

(सशस्त्र विद्रोहमार्फत् केही दिनअघि मात्र सत्तामा आएका अफगानिस्तानका तालिवानी विद्रोहीहरुका बारेमा संसारभर चर्चा र परिचर्चा छ । उनीहरुका बारेमा विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीहरुले मानिसलाई अचम्मित बनाइरहेका छन् । खासगरी उनीहरुले अङ्गालेको कट्टर धार्मिक रुझानलाई संसारका मानिसहरुले राम्रो र नराम्रो दुवै तरिकाले हेरिरहेका छन् । मुस्लिम समुदायमै पनि विभिन्न समूहमा बाँडिएर रहेका उनीहरु आपसमै पनि धार्मिक नीतिका कारणले टुट्फुटको अवस्थामा रहेका छन् । यसैबीच अफगानमा सत्ता कब्जा गरेका तालिवानप्रति नेपालमा रहेका मुस्लिम समुदायले कसरी लिएका छन् ? भनेर गोलमिडिया न्युजका संवाददाताले अमहदिया संघ नेपाल काठमाडौंका मसिनरी इञ्चार्ज समिन अहमदसित कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सार संक्षेप-सम्पादक ।)

१) अफगानिस्तानमा मुस्लिम समुदायका तालिवानहरु सत्तामा आएका छन् । यसले संसारका मुस्लिममा एकखालको उत्साह जगाएको देखिन्छ । तपाईं र तपाईंको संगठनले यो घटनालाई कसरी हेरेको छ ?

होइन, उनीहरु कट्ट्र मुस्लिमहरु हुन् । हाम्रो संगठन उदारवादी संगठन हो । हामी हाम्रो धर्मगन्थ कुरानमा लेखेका कुरा लागु गरिरहेका छौं । कुरानमा कमरुल होदाले देखाएको बाटोअनुसार हामी अघि बढ्ने हो । इस्लामको अर्थ शान्ति हो । तर धेरै मुस्लिमहरुले यसको विपरीत गरिरहेका छन् । अर्कोलाई मार्ने काम मुस्लिमको होइन । जो तालिवानीहरु गरिरहेका छन् । उनीहरु आफ्नो राजनीतिक कारणले गर्दा यस्तो गरिरहेका छन् । हाम्रोमा जसले एकजनाको ज्यान बचायो, त्यो उदारवादी हुन्छ भने जसले एकजनाको ज्यान लियो, त्यो त्यति नराम्रो हुन्छ । त्यसकारण हाम्रो अमहदिया संघ नेपाल इस्लामको नीतिअनुसार छ भने तालिवानीहरु त्यसको विरुद्धमा छन् । ‘सबैलाई प्रेम गर, घृणा कसैलाई नगर’ भन्ने हाम्रो त नारा नै छ । अरु मुस्लिमहरु पनि यसै भन्छन् भन्न त तर उनीहरु बोल्ने मात्रै हो । यसैकारणले गर्दा मुस्लिमहरुको बद्नाम पनि भएको छ । मुस्लिमहरु कट्टरवादी हुन्छन् भन्ने जताततै पर्न गएको छ । तर खासमा त्यसो होइन । हाम्रोमा कालो र गोरोमा पनि भेदभाव गर्नु हुँदैन भन्ने हुन्छ । सानो–ठूलो र कसैले कसैलाई अपमान र घृणा गर्नु हुँदैन । त्यसकारण हाम्रो अहमदिया संघमा कसैलाई भेदभाव गर्ने होइन, सबैले सबैलाई माया गर्नुपर्छ भन्ने हुन्छ ।

२) उसो भए तालिवानीहरु सत्तामा आउने कुरा तपाईंहरुलाई खुशीको विषय भएन ?

खुशीको कुरा होइन मात्रै होइन, एकदमै नराम्रो कुरा हो । किनकि कसैले कसैलाई हेप्नु हुँदैन । कसैको हक र अधिकार खोस्नु हुँदैन । तर उनीहरुले हिजो त्यसो गरेका छन् । जुन तालिवानहरु छन्, उनीहरुले महिलाको हक खोस्छन् । उनीहरुले पढ्न र अन्य अधिकार पनि दिनु हुँदैन भन्छन् र दिइरहेका छैनन् । यो कुरा उनीहरुको निकै नराम्रो हो ।

३) उनीहरुको कट्ट्रता छ तर तपाईंहरु भने कसरी शान्तिपूर्ण लाइनमा आउनु भयो त ?

हाम्रो संगठनले महिलालाई पनि अधिकार दिनु पर्छ भन्ने लाइन लियो । किनकि त्यसरी कुनै पनि मानिसले अर्को मानिसलाई दमनमा राख्ने र अमानवीय व्यवहार गर्ने कुरा गलत हो ।

४) तर उनीहरुले महिलाप्रतिको कुरालाई सच्याउने भनेका छन् भने अन्तर्राष्ट्रिय समुदायसित मिलेर काम गर्ने बताएका छन् यसमा तपाईंलाई विश्वास छैन त ?

यो उनीहरुले भन्ने कुरा मात्र हो जस्तै लाग्छ । भनेअनुसार व्यवहारमा गरेछन् भने त ठीकै छ । किनकि उनीहरुले हिजो जुन व्यवहार देखाएका छन्, त्यसले उनीहरुलाई अहिले नै विश्वास गरिहाल्ने आधार भने छैन । उनीहरुको जुन परम्परा रहिआएको छ, त्यसले पनि उनीहरुले अब राम्रो गर्छन् भन्ने देखाउँदैन ।

५) उनीहरुलाई शान्तिपूर्णरुपमा काम गर्नका लागि तपाईंहरुको तर्फबाट पहल भयो कि भएन ?

हामीले पहल गरिहेका छौं । हाम्रो अमहदिया संघका नेतृत्वले पटकपटक चिट्ठी पनि पठाएको छ । शान्तिपूर्णरुपमा समाजसेवा र राजनीति गर्न र महिलामाथिको जुन दमन र अत्याचार छ, त्यसलाई हटाउन पनि हाम्रो नेतृत्वले आग्रह गरेको छ । त्यसकारण हाम्रो संगठनले हतियारको बलमा सत्ता कब्जा गरेर आएकोमा समर्थन गर्दैन ।

६) उनीहरुले शान्तिपूर्ण तरिकाले शासन गर्ने लाइनमा आए भने तपाईंहरुको समर्थन हुन्छ कि हुँदैन ?

त्यसो भयो भने हाम्रो समर्थन हुन्छ । जोरजबरजस्ती गरेर, बल देखाएर, धम्क्याएर शासन गर्ने कुरामा हाम्रो समर्थन हुँदैन ।