काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू माओवादीमै रहेको दाबी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताए ।
दायर गरिएको रिटमा उनले भनेका छन्, ‘नेकपा एमाले आजसम्म म औपचारिक रुपमा प्रवेश गरेको छैन । एमालको पार्टी सदस्यता लिएको छैन । नेकपा माओवादी (एकता) केन्द्रको केन्द्रीय समितिको सदस्यमा रहेको छु ।’
रायमाझीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादीका थुप्रै नेताहरु माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।