काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाटो विराएका साथीहरू सही बाटोमा आएको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिनिधि सभा भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुराकानी गर्दै यादवले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई संकेत गर्दै बाटो विराएका साथीहरू सही बाटोमा आएको बताए ।
आज ठाकुर पक्षले पनि प्रधानमन्त्रीमा देउवालाई मत दिएको थियो । देउवाको पक्षमा १६५ सांसदले विश्वासको मत दिएका थिए भने ८३ जनाले विपक्षमा मत दिएका थिए ।
एक जना सांसद तटस्थ बसेका थिए । जसपाभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा यादवले राजनीतिक पार्टीमा विवाद भइरहने पनि बताए ।