• मंसिर १५ २०८१, शनिबार

अस्पतालबाटै झलनाथले भने : देउवालाई विश्वासको मत दिऔं, अलमल नगरौं

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सांसदहरूलाई अलमल नगरी देउवालाई मत दिन अग्रह गरेका हुन्।

‘… म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

त्यस्तै खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने बताए । ‘यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरुको समेत साझा सरकार बन्नुपर्छ’ उनले भनेका छन् ।

उनले सरकारले विश्वासको मत नपाए मुलुक फेरि संकटमा पर्ने पनि बताएका छन् ।