• बैशाख २२ २०८३, मंगलवार

घुस लिएको आरोपमा प्रहरी हवल्दारसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१ २०७८, बिहीबार

काठमाडौँ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ। अख्तियारले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरूद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियाराक प्रवक्ता नारायण रिसालले जानकारी दिए ।

पक्राउ परेका प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले उनीहरुलाई गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । अख्तियारले प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ विगो माग गरेको छ । त्यस्तै थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार विगो माग गरिएको छ ।