काठमाडौँ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
मन्त्रालया सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका छन् ।
‘विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेसम्म कोभिड-१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’
गत वर्ष पनि कोरोना भाइरसबाट जोगाउनका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो ।
मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि खोप लगाउने, मास्कको सधैं प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने नै विकल्प भएको बताएको छ ।