• बैशाख २२ २०८३, मंगलवार

उपत्यकाका सिडिओहरूको बैठक बस्दै, लामो दूरीका सवारीसाधन सञ्चालनबारे छलफल हुने

असार ३१ २०७८, बिहीबार

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु बिहीबारअपराह्न चार बजे संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्न लागेका हुन् ।

लामो दुरीका सार्वजनिक यातायातका साधन अझै चल्न दिइएको छैन । आजको बैठकमा लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए । हाल काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । यसैबिच बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनज। गर्दै साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको बताइएको छ ।