• बैशाख २२ २०८३, मंगलवार

विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

असार ३० २०७८, बुधबार

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए।

गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा छन्। उनलाई १० लाख धरौटीमा छोड्ने निर्णय भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई छाड्न आदेश दिएको हो।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानूनी कार्य गरेको अभियोग-पत्रमा उल्लेख छ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो।

गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए। उनको नाममा पुन: म्याद जारी गरेको थियो। अदालतले दोस्रो पटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो।

यसअघि सुनसरीमा म्याद तामेल भएको थियो। तर, उक्त तामेल अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो। उक्त आदेशपछि काठमाडौंको स्थायी ठेगानामा तामेल गरिएको थियो।