काठमाडौँ। निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि असार २८ मा सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।