काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे लगत्तै विपक्षी गठबन्धनको बैठक शुरू भएको छ ।
कोटेश्वरस्थित नेपाल वन पैदावरको अफिसमा आगामी रणनीति तय गर्नका लागि विपक्षी गठबन्धनको बैठक शुरु भएको हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेता रघुजी पन्त सहभागी भएको बैठकमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । जनमोर्चाका तर्फबाट भने सांसद दुर्गा पौडेल सहभागी छन् ।