काठमाडौं । संसद विघटनलाई बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएपछि नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ ।
पूर्वनिर्धारित समयअनुसार बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी छैनन् । उनीनिकट केही स्थायी कमिटी सदस्यहरू पनि बैठकमा गएका छैनन् । उनीहरूले बैठक सार्न प्रयास गरिरहेको बताएका थिए ।
नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल भने स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए ।
उनले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघि नै जानकारी दिएका थिए । नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन् ।
एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने बताएका थिए । कार्यदलले आइतबार राति एमाले मिलाउन दश बुँदे सहमति तयार पारेको थियो ।
सर्वोच्चको फैसलापछि उक्त दश बुँदे सहमतिको कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्यौल बढेका बेला नेपालका तर्फबाट कार्यदलका संयोजक रहेका नेता रावल बालुवाटार पुगेका हुन् ।