भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडाध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने जमिर मियाँ भएको भन्दै नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३३ वर्षीय भारतीय नागरिक देवन, नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरू रहेका छन् ।
गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सापकोटाले गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोप छ ।
प्रहरीले नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढाएको छ । उनले अर्घाखाँचीबाट नागरिकता बनाएको खुलेको छ।
उनले देवन आफ्नै छोरा भएको र ममिता खातुन भन्ने आमाले सानैमा छाडेर गएको भन्दै झुठो विवरण पेश गरेका थिए ।
नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए।
जन्मदर्ता बनाएको १५ दिन भित्रै नागरिकता बनेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले पक्राउ परेका आरोपीहरुलाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।