काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा गुटगत भेलामा व्यस्त भएका छन् ।
नेपाली कांग्रेसका नेताहरूले सक्रियता बढाएर गुटगत भेलामा व्यस्त छन् भने क्रियाशील सदस्यता छानविन समिति पनि सक्रिय देखिएको छ ।
तर, क्रियाशील सदस्यताको छानविन चलिरहँदा समायोजनका नाममा क्रियाशील वितरण जारी रहेकाले त्यसमा कुरा नमिल्दा कार्यतालिका प्रभावित हुने आशंका पनि गरिएको छ । कोरोना महामारीकै बीच नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
साउन दोस्रो साताबाट तल्लो तहका अधिवेशन शुरू गर्ने कांग्रेसको कार्यतालिका छ । असार मसान्तभित्र क्रियाशील सदस्यता टुंगाउने गरि रमेश लेखक संयोजक रहेको छानविन समिति अहिले सक्रिय छ ।
कांग्रेस क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता विवादको विषय करिब करिब टुंगिन लागेको समितिको दाबी छ । तर, समितिले छानविन र उजुरी हेरिरहँदा राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायत अन्य दफ परित्याग गरि आएकाहरूलाई समायोजनका नाममा क्रियाशिल वितरण रोकिएको छैन ।
जसमा संस्थापन ईतर समूहले गम्भीर चासो राखेको छ । समायोजनको विषय कांग्रेसभित्र बल्झन सक्ने क्रियाशील सदस्यता छानबिन समितिकै सदस्यहरू बताउँछन् ।
समायोजनका नाममा धेरै क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडल समूहले असन्तुष्टि राख्दै आएको छ । छानविन समितिमा रहेका संस्थापनइतर समूहका सदस्यहरूसँग पौडेलले विहीबार अलग्गै छलफल समेत गरेका थिए ।
त्यसोत महामन्त्री शशांक कोइरालाले असार मसान्तभित्र क्रियाशील सदस्यताको विषय नटुंगिए भदौमा महाधिवेशन सम्भव नहुने बताइसकेका छन् । तर, सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता रहेकाले महाधिवशेन जसरी पनि गर्ने बताएका छन् ।
देउवाले आफू अधिवेशन नगराएको कलंकको भारी नबोक्ने बताएकाले पनि निर्धारित मितिमा महाधिवेशन हुनसक्छ भन्नेमा संस्थापन इतर समूह छ । त्यसैले उनीहरू आफ्नो समूह व्यवस्थापनमा समेत जुटिरहेका छन् ।
संस्थापन इतर समूहबाट एउटै सभापतिको उमेदवार खोज्न भन्दै छलफल समेत शुरू भएको छ । नेपाली कांग्रेसको विधानमा निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षमात्रै हुने उल्लेख छ । विशेष कारणले महाधिवेशन हुन नसके बढीमा ६ महिना थप्न सकिने सुविधा छ ।
सो समयावधि कटाइसकेको कांग्रेस नेपालको संविधान २०७२ को प्रावधानमा रहेको व्यवस्थाले मात्रै जोगिएको छ । भदौभित्र महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा पर्ने छ ।
तर, कोरोना महामारी र अविरल वर्षाका कारण आएको बाढी पहिरोकाबीच महाधिवेशन गर्न सहज भने नभएको कांग्रेसकै संस्थापन पक्षका नेताहरू बताउँछन् ।