काठमाडौं । माओवादी छाडेर एमालेको नेता बनेका टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको पार्टी भनेर आरोप लगाएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्न दिइएको निवेदनका विषयमा छलफल गर्न पुगेका उनले माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको पार्टी भनेर आरोप लगाएका हुन् ।
उनले भने, ‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ ।’
त्यसैगरी माओवादी केन्द्र अवैधानिक र रहेको अवैधानिक पार्टी अध्यक्षले आफूहरुलाई गरिएको कारबाही पनि अवैधानिक रहेको उनले बताएका छन् । उनले भने, ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन । त्यसपछि महाधिवेशन नभएका कारण पार्टी अवैध हो र हामीमाथि गरिएको कारबाही पनि अवैध हो ।’
शुक्रबार रामाझीसँगै माओवादी केन्द्र खारेजी गर्न दिइएको निवेदन बुझ्न आयोगमा मणि थापा, प्रभु शाहलगायत नेताहरु पुगेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।