काठमाडौँ। वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति कुलपति प्रधानमन्त्री अझै किन मौन? भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरि प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी रहेको जनाएका छन् ।
‘प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन। कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्छ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएका विषयलाई ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी रहेको पार्टीले जनाएको छ ।
‘प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ।