काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरू मिल्न नसक्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी फुटाएर आ-आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।
मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । मिल्न सकिन्नँ भनेर दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।
‘उहाँहरु एकताका लागि सहमत हुनु भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’ स्रोतले बतायो ।
आयोगमा उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी आयोग पुगेका थिए भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए ।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।