• कार्तिक ४ २०८३, मंगलवार

दशैंको खुसी दशामा नबदलियोस् : खानपानमा सचेत बनौँ

कार्तिक ४ २०८३, मंगलवार

दशैं नेपालीहरूको प्रमुख चाड हो। परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्दै  खाने, रमाइलो गर्ने र खुसी साटासाट गर्ने अवसर पनि हो। तर, दशैंको खानपानमा आवश्यक सावधानी नअपनाउँदा चाडपर्वको खुसी स्वास्थ्य समस्यामा परिणत हुन सक्छ। त्यसैले दशैंमा खानपानमा संयमता अपनाउँदै स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ।

विशेषगरी दीर्घरोगी, उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा बढी सतर्कता अपनाउनुपर्छ। चाडपर्वको अवसरमा स्वादका लागि आवश्यकताभन्दा बढी खाने, धेरै नुन र चिल्लोयुक्त परिकार सेवन गर्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

गाउँघरमा दशैंका बेला मासुका विभिन्न परिकारसँगै रक्ती अर्थात् रगतबाट बनाइने परिकार खाने चलन पनि छ। यस्ता परिकारमा नुनको मात्रा धेरै हुन सक्ने भएकाले सेवन गर्दा सावधानी अपनाउनुपर्छ। विशेषगरी उच्च रक्तचाप भएका तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले धेरै नुन सेवन गर्दा रक्तचाप नियन्त्रणमा कठिनाइ हुन सक्छ। त्यसैले यस्ता व्यक्तिले रक्ती तथा अत्यधिक नुनिलो परिकार सीमित गर्नुपर्छ वा चिकित्सकको सल्लाहअनुसार खानुपर्छ।

दशैंमा मासु सेवन गर्दा यसको गुणस्तर र स्वच्छतामा पनि उत्तिकै ध्यान दिनुपर्छ। मासु स्वस्थ पशुको हो कि होइन, पशु स्वास्थ्य तथा स्वच्छतासम्बन्धी मापदण्ड पालना गरी बध गरिएको हो कि होइन र मासु सुरक्षित तरिकाले भण्डारण गरिएको छ कि छैन भन्ने कुरामा सचेत हुनुपर्छ। अस्वस्थ पशुको मासु, दूषित मासु वा उचित तापक्रममा भण्डारण नगरिएको मासु सेवन गर्दा खाद्यजन्य रोगको जोखिम बढ्न सक्छ।

मासु राम्ररी पकाएर खानु, हड्डी मासु खाने बेला सचेत भएर बिस्तारै खानु, घाटीमा अड्किनु सक्छ मासु चपाएर खाने गर्नुपर्दछ । काँचो र पाकेको मासु छुट्टाछुट्टै राख्नु, मासु काट्ने सामग्री सफा राख्नु र लामो समयसम्म कोठाको तापक्रममा मासु नराख्नु पनि महत्त्वपूर्ण हुन्छ। साथै, मासु मात्र बढी खानेभन्दा सागसब्जी, फलफूल तथा अन्य सन्तुलित खाद्यपदार्थलाई पनि खानपानमा समावेश गर्नुपर्छ।

चाडपर्व भन्दैमा नियमित औषधि सेवन र चिकित्सकले दिएको खानपानसम्बन्धी सल्लाहलाई बेवास्ता गर्नु हुँदैन। मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानको मात्रा र प्रकार निर्धारण गर्नुपर्छ।

दशैं रमाइलो गर्ने, स्वादिष्ट परिकार खाने र परिवारसँग खुसी साट्ने पर्व हो। तर, स्वाद र रमाइलोका नाममा स्वास्थ्यलाई जोखिममा पार्नु बुद्धिमानी होइन। खानपानमा संयमता, मासुको स्वच्छतामा ध्यान र आफ्नो स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउन सके दशैंलाई स्वस्थ, सुरक्षित र खुसीमय बनाउन सकिन्छ।

त्यसैले यस दशैंमा स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ। खानपानमा सचेत बनौँ, आफू पनि स्वस्थ रहौँ र परिवारलाई पनि स्वस्थ राखौँ। दशैंको खुसी दशामा नबदलियोस्।