• मंसिर १२ २०८१, बुधबार

युरोकप खेलमा सट्टेबाजी गर्ने समूह नगद सहित पक्राउ

असार २१ २०७८, सोमबार

काठमाडौँ। अमेरिका र युरोपमा जारी युरोकप २०२० र कोपा अमेरिका कप फुटबल खेलमा सट्टेबाजी गर्ने आठजना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जारी फुटबल खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्धेश्य राखेर ठूलो रकमको बाजी राख्न लगाई काठमाडौँका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको समूहले ती व्यक्तिहरुलाई पक्राऊ गरेको हो ।

सट्टेबाजी आरोपमा पक्राऊ परेकाबाट प्रहरीले बरामद गरेको नगद रकम
सट्टेबाजी आरोपमा पक्राऊ परेकाबाट प्रहरीले बरामद गरेको नगद रकम

नेपाल प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको समूहले काठमाडौँका इन्द्रचोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका विभिन्न स्थानबाट आठजना व्यक्तिहहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएका मोबाइल सहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाई अनलाइन Betting गरी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

सट्टेबाजी आरोपमा पक्राऊ परेकाबाट प्रहरीले बरामद गरेका मोबाईल
सट्टेबाजी आरोपमा पक्राऊ परेकाबाट प्रहरीले बरामद गरेका मोबाईल

पक्राउ परेका व्यक्तिहरुलाई अपराध महाशाखाले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कार्वाहीको लागि महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाइएको छ । पक्राउ परेका व्यक्तिहरुबाट त्यसरी विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको बताएको छ ।

पक्राउ पर्ने व्यक्तिहरु
१) काठमाडौं कामनपा–४ सुकेधारा बस्ने वर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान ।
२) जिल्ला काठमाडौं कामनपा वडा नं–१९ ढोकाटोल बस्ने वर्ष ४७ को जीवन लामा ।
३) जिल्ला पर्सा वीरगंज मनपा वडा नं–७ घर भई हाल काजि, कुलेश्वर बस्ने वर्ष ४६ को सुरज टिवडेवाल ।
४) भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल काजि कुलेश्वर बस्ने वर्ष ४६ अशोककुमार गुप्ता ।
५) जिल्ला चितवन खैरहनी नपा वडा नं–५ टरौली घर भई हाल काजि धापासी बस्ने वर्ष ४५ को गोविन्दप्रसाद आचार्य ।
६) भारत हरियाना विवरनी जिल्ला घर भई हाल काजि इन्द्रचोक बस्ने वर्ष ४९ को राजेशकुमार अग्रवाल ।
७) भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल काजि क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल ।
८) जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं ७ घर भई काजि मरुटोल बस्ने वर्ष ४६ को अमरनाथ गुप्ता ।