काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
आइतबार बिहान ओली पक्षीय नेता एवं मन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटसँगै वार्ता गरे पनि असफल भएको केही घन्टामै नेता रावल प्रधानमन्त्रीसँग वार्ताका लागि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन्।
नेता नेपालसँग निकट रहेका रावल नै नेपाललाई रिझाउन सक्ने भएकाले उनलाई बालुवाटार वार्ताका लागि बोलाइएको स्रोतले बताएको छ । नेता रावल वार्ताका लागि प्रधानमन्त्री निवासमा पुगेको मात्र बताइएको छ ।
साथै, एमाले केन्द्रीय समिति बैठकले माधव पक्षका सांसदलाई हस्ताक्षर फिर्ता लिन दिएको दुई दिनको असमय भोलि सकिनै लागेको छ भने ओली पक्ष उक्त अल्टिमेटम अघि नै दुई पक्षबीच सहमति जुटाउन अग्रसर रहेको देखिन्छ । तर, नेता नेपालले भने ओली समूहको उक्त प्रस्तावलाई अस्विकार गर्दै आएका छन् ।