• बैशाख २२ २०८३, मंगलवार

विदेशमा छोराले राम्रो काम नपाएपछि बुवाले पठाउने ‘एजेन्ट’लाई गोली हानी हत्या गरे

असार १९ २०७८, शनिबार

कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका हुन्।

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए।

पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।

बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले। भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए।