काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । यसैबीच पार्टीका तीन नेताबीच छलफल भएको छ ।
पार्टीका केन्द्रीय सदस्य सुजाता कोइराला निवास मण्डिखाटारमा आज भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो ।
सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर सो अवसरमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले जानकारी दिए । “गुट उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो”, उनले भने ।
छलफलका क्रममा कोइरालाले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको भन्दै सहमति र सहकार्यका लागि आग्रह गरेकी गर्दै पौडल र सिटौलालाई पार्टीभित्र सहमति र एकताको सन्देश दिन अनुरोध गरेकी छिन् । कोइरालाले कांग्रेस एक नभए लोकतन्त्र संकटमा पर्ने बताइन् । उनले १३ औं महाधिवेशनमा पनि एकताका लागि आफूले त्याग गरेको स्मरण गराउँदै कोइरालाले यसपटक एकता नभए आफूलाई कसैले रोक्न नसक्ने बताइन् ।
यस्तै, मुलुकको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका लागि छलफल र भेटघाट बाक्लिएको छ ।