काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएको विद्यार्थी संघर्षप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधीको शुल्क वैज्ञानिक नभएको भन्दै ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समिति’को आयोजनामा त्रिभुवन विश्वविद्यालयमा भइरहेका संघर्षका कार्यक्रमहरुप्रति एक्यवद्धता र पूर्ण समर्थन जनाउँदै क्रान्तिकारीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले शिक्षालाई आम जनताको पहुँचमा पुर्याउने परस्थिति निर्माण गर्नुको सट्टा शिक्षालाई निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण गर्ने र हुनेखाने बाहेक सर्वसाधारण जनताका छोराछोरीलाई उच्चशिक्षा हासिल गर्नबाट बञ्चित गराउने खेल खेलेको आरोप लगाउँदै क्रान्तिकारीले त्रिवि विद्यार्थी संघर्ष समितिका मागहरु पूरा गराउनका निम्ति नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकाएलाई गम्भीर हुन अपिल गरेको छ ।
केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा सोमबार जारी प्रेस विज्ञप्तिका अनुसार विद्यार्थीका माग पुरा नभएपछि उत्पन्न हुने परस्थितिको जिम्मेवारी नेपाल सरकार, त्रिभुवन विश्व विद्यालय र सम्बन्धित निकाएले नै लिनुपर्ने बताइएको छ । क्रान्तिकारीले आफ्नो संगठन शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निशुल्क एवं सर्वसुलभ गराउनुका साथै शिक्षालाई जनवादी र वैज्ञानिक बनाउनका निम्ति निरन्तर संघर्षरत रहेको भन्दै शिक्षा र स्वास्थ्यक्षेत्र दलाल र माफियाहरुको केन्द्रीकरण हुन पुगेको, तिनै दलाल र माफियाहरुलाई संरक्षण गर्नको निम्ति प्रधानमन्त्री केपी ओली स्वयमले नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत आरोप लगाएको छ ।
कोरोना भाइरसको दोस्रो लहरबाट पुरै मुलुक आक्रान्त बनेको अवस्थामा नेपाली जनता रोग र भोकबाट ग्रसित भएका छन् भने सरकार आफनै सत्तास्वार्थमा लिप्त भएको क्रान्तिकारीले बताएको छ । नेपाली जनतालाई अविलम्ब रुपमा कोरोना भाइरसको खोप उपलब्ध गराउन सरकारलाई अपिल गर्दै रोग र भोकबाट ग्रसित जनतालाई गास, बास लगायत सम्पूर्ण व्यवस्थापनको निम्ति क्रान्तिकारीले अनुरोध गरेको छ ।
हेरौं विज्ञप्ति ⇓
