काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले पैसा तिरेर कोरोना विरुद्धको खोप उपलब्ध गराउने कुरा गरेमा वा यस्ता ठगी गर्ने घटनाबारे जानकारी भएमा उजुरी गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले कोरोनाविरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी दिदै उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त खबर गर्न तथा उजुरी गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले सूचनामा भनेको छ, ‘आफ्नो पालो कुरी कोभिड-१९ विरुद्धको खोप निशुल्क लगाऔँ, पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ ।’
मन्त्रालयले कसैले खोप उपलब्ध गराउने वा ठगी गर्नेहरुको जानकारी भएमा स्थानीय प्रशासनलाई समेत जानकारी गराउन आग्रह गरेको छ ।