• मंसिर १५ २०८१, शनिबार

भुसालको पद चैट हुनक्छ : भट्टराई

असार १४ २०७८, सोमबार

एमाले राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले स्वतन्त्र सांसदको हैसियत माग गरेर बेदुराम भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको बताएका छन् ।

भुसालले अदालतको फैसलाबाट आफू दलविहीन बनेको भन्दै स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्ने भएपनि सांसद भई रहन सम्भव नहुने भट्टराईको भनाइ छ ।

सामाजिक सञ्जालमा भट्टराई लेख्छन्, ‘राष्ट्रिय सभा सदस्य बेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन सम्भव हुँदैन ।’

नेकपा एमाले र माओवादी केन्द्र मध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्ने भन्दै त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन नसक्ने उनको दाबी छ ।

‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्छ ?।’ भट्टराईको प्रश्न छ, ‘यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’
उनले एमाले वरिष्ठ नेता माधव नेपाल माथि पनि प्रश्न उठाएका छन् । ‘कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ ? उहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त ?,’ उनले लेखेका छन् ।