काठमाडौं । शेर बहादुर देउवा निवेदक रहेको प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा प्रतिवादीका लागि समेत १५ घण्टा समय प्रदान गरिएको छ। जस मध्ये साढे ७ घण्टा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलले तथा बाँकी रहेको साढे ७ घण्टाको समयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट अन्य निजी प्राइभेट वकिलहरूले बहस गर्ने भएका छन्।
महान्यायाधिवक्ता कार्यालयको तर्फबाट ११ जनाको नाम बहसका लागि सर्वोच्च अदालतमा पठाइएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ताले बताएका छन् ।
सरकारी पक्षका वकिलले बहस गरे पछि प्रधानमन्त्री ओलीका तर्फबाट समेत प्राइभेट वकिलको रुपमा ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन्। जस मध्ये वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, सुरेन्द्र भण्डारी, महेश नेपाल, ईश्वरी भट्टराई र सुरेन्द्र महतोले बहस गर्नेछन्। वरिष्ठ अधिवक्ता महतो भने यस अघि प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट प्रधानमन्त्री ओलीको विपक्षमा बहस गरेका थिए।
त्यसै गरी राष्ट्रपति भण्डारीको तर्फबाट पनि केही वकिल रहनेछन्। सभामुख सापकोटाको वकिलका लागि १ घण्टा समय प्रधानन्यायाधीश जबराले दिएका छन्। आवश्यक भए आधा घण्टा थप्न सकिने उनले आईतवार इजलासमा बताएका थिए। सभामुख सापकोटाको तर्फबाट लव कुमार मैनाली, श्याम प्रसाद कंडेल, श्रीकृष्ण सुवेदी,मेघराज पोखरेल र उपेन्द्र केशरी न्यौपानेले नाम लेखाएका छन्।