• मंसिर १२ २०८१, बुधबार

दोलखामा कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात

असार १३ २०७८, आईतवार

चरीकोट । दोलखाको मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात भएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित सो कोभिड अस्पतालमा शनिबार राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए ।

बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा कार्कीले बताए ।

चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ ।

अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मालुका गोपाल तिमसिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ ।