काठमाडौं । सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण स्थगित भएको राष्ट्रिय जनगणना गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार अन्तिम निर्णय गर्ने भएको छ ।
राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आइतबार साँझ ५ बजे बस्ने भएको छ । सो बैठकले जनगणनाको काम अघि बढाउने कि केही समयपछि सार्ने भन्ने छलफल गर्ने निर्णय गर्ने बताइएको छ । अर्थ, गृह, प्रधानमन्त्री कार्यालय, शिक्षा, वित्त आयोग, राष्ट्रिय योजना आयोगका सचिव र जनसंख्या शास्त्र, तथ्याङक शास्त्रका एक/एक जना विज्ञ सहितको समितिले जनगणना गर्ने नगर्ने विषयमा निर्णय गरी नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
मन्त्रिपरिषदबाट सिफारिस पास भएमा साउन र भदौभित्रमा गणना सक्ने लक्ष्य तथ्याङ्क विभागले राखेको छ । ९० प्रतिशत काम सम्पन्न गरी सकेको जनाउदै भोलिको बैठक र मन्त्रीपरिषद्ले दिएको निर्णयअनुसार काम अघि बढाउने पक्षमा विभाग रहेको बताइएको छ ।