• फाल्गुन २४ २०८२, आईतवार

निषेधाज्ञा खुलेसँगै ‘डेल्टा प्लस’ले प्रभाव पार्न सक्छ : विज्ञ

असार १२ २०७८, शनिबार

काठमाडौं । विज्ञहरूले खोपको अभावका कारण कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो ।

डेल्टा बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के ४१७ एन’ हो । भारत लगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ ।

‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’

डेल्टा प्लस भेरिएन्ट कोभिडको तेस्रो लहरको ट्रिगर (उत्प्रेरक) हुने उच्च सम्भावना रहेको नागासाकी विश्वविद्यालयका प्राध्यापक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाइ छ ।

डेल्टा प्लस भेरिएन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावनापछि यसको उच्च संक्रामकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमतासमेत प्रमुख छ ।

खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टिबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्त्याउन सक्ने औंल्याउँदै डा. पाण्डेले भने, ‘डेल्टा प्लसले बालबालिकादेखि बूढापाकासम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतता आवश्यक छ ।’