काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमति खोज्दै छलफलमा लागेका छन् ।
सभापतिका तीन दाबेदारबीच पछिल्लो समय भने सहमतिको खोजी सुरु भएको हो । ८ असारमा उपसभापति निधिको निवासमा लन्च मिटिङ गरेका तीन नेता शुक्रबार महामन्त्री कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएर छलफल गरे ।
दुई घण्टा लामो बैठकमा नेताहरुबीच नेतृत्वबारे छलफल भए पनि कुनै सहमति बनिसकेको छैन । ‘हामीहरुबीच सहमति भएर अगाडि जाने सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘हामीहरु एकै टिममा रहने सम्भावना धेरै छ ।’
अर्का नेता सिंहले भने, ‘नेतृत्वको विषय एउटा-दुई सिटिङमा टुंगो लगाउन सम्भव हुँदैन । हामी निरन्तर बस्छौं, अरु साथीहरुसँग पनि बस्छौं ।’